'स्थानीय तहलाई सुन्दर बनाउन जिम्मा इञ्जिनियरको'

'स्थानीय तहलाई सुन्दर बनाउन जिम्मा इञ्जिनियरको'

काठमाडौं, ३ साउन । नेपाली इन्जिनियरहरुले स्थानीय तहलाई समृद्ध बनाउन आफूहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ५५ औँ इन्जिनियर्स दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा एसोसिएसन सधैं ईन्जिनियरहरुको हकहितको लागि काम गर्ने जनाएका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले स्थानीय तह आफैंमा सरकार भएको बताए । उनले पछिल्लो समय स्थानीय तहमा इञ्जिनियरहरुको माग बढेको बताउनुभयो । एसोसिएसनले इञ्जिनियर्स डे ‘ज्ञान नै शक्ति,श्रम नै भक्ति’ नाराका साथ दुई दिनसम्म मनाउने जनाएको छ । कार्यक्रममा स्थानीय तहमा इञ्जिनियरहरुले गर्ने ‘इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’ सम्बन्धी विभिन्न चरणमा ‘टेक्निकल सेमिनार’ भएको थियो । डा. पोखरेलका अनुसार स्थानीय तहलाई अहिले कानुन बनाउने देखि कार्यान्वयन गर्नेसम्मको अधिकार दिइएको छ । त्यसैले इञ्जिनियरहरुले आफूलाई कहाँ राख्ने उनीहरुकै हातमा रहेको पोखरेलको बुझाइ छ । “अब स्थानीय तहमा इञ्जिनियरहरुले आफ्नोे खुबी देखाउने दिन आएको छ,” उहाँले भन्नुभयो “इञ्जिनियरप्रति जनताको अपेक्षा अधिक छ ।”
कार्यक्रम उद्घाटन गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्रा.डा. जिवराज पोखरेलले सरकारले चाहेअनुसारको पूर्वाधार विकासमा इञ्जिनियरहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।उहाँले विकसित छिमेकी देश चीनलगायतमा भएको पुनर्निर्माणलाई नेपालले पनि अनुसरण गर्नुपर्ने सुझाव दिनुभयो । एसोसिएसनका पूर्व अध्यक्ष्य ध्रुवराज थापाले देश बिकासमा इन्जिनियर्सको भूमिका महत्वपूर्ण रहेको र आर्थिक संबृद्धि बिना देश बिकास हुन नसक्ने बताउनुभयो । पूर्वधार बिकास र नितिनियम बिना देश बिकास हुन नसक्ने भन्दै प्राबिधिक अडानमा इन्जिनियरहरु निरन्तर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद इच्छाराज तामाङले अहिलेसम्म मुलुकमा सामाजिक परिवर्तनमात्र भएको तर आर्थिक तथा भौतिक परिवर्तन हुन बाँकी नै रहेको बताउनुभयो । उहाँले इञ्जिनियरहरुले स्थानीय तहमा आफ्नो क्षमता देखाउने राम्रो अवसर आएको बताउनुभयो ।