'हजुरआमा, तपाईँले मलाई के सिकाउनुहुन्छ ?'

 'हजुरआमा, तपाईँले मलाई के सिकाउनुहुन्छ ?'
- भजुराम तखाछेँ श्रेष्ठ

समुद्रमा सन्देश भएको बोतल तैरिरहेको जस्तै माथिको चित्र मेरो मगजी समुद्रमा तैरिरहेकोले यस आलेखद्वारामात्र निकाल्न कोसिस गरिरहेको छु। उपरोक्त चित्र भर्खरै माइतीघररूपी आमाको गर्भबाट निस्केकी अदेलिया बर्टनलाई अमेरिकाको आन्ड्यु विश्‍वविद्यालयकी उनकी हजुरआमा प्रोफेसर कनी गेनले बोकिरहेकी हुन्। कनी गेन मध्य पूर्वदेशको पौराणिक सभ्यतामा विशेषज्ञ भएकी पुरातत्वविद् हुन्। आँधिबतास जस्तै बगिरहेको मध्यपूर्वको पौराणिक र आधुनिक इतिहासको ज्ञानले भरिएकी कनीले सफा कागज जस्तो मगज लिएर आएकी आफ्नी नातिनीबाट केही वर्षभित्रै अनेकन् प्रश्‍नहरूको ओइरोलाग्ने भएकोले निश्‍चयनै उनको दिमागमा केले भरिदिने होला भनेर उनले सोचेकि हुनुपर्छ। के आफ्नो हजुरआमाले आफूलाई बोकिरहेको छ भनेर त्यस बच्चालाई थाहा होला र? तर त्यसको जवाफ उनले पाउन केही समय लाग्छ जुन जवाफ बज्यैसँगको ममतामयी सम्बन्ध बढ्दै जान्छ। तर आमा र हजुर आमाले त्यस बच्चीको कलिलो र खालि दिमागमा के भरिदिने जसले गर्दा त्यो हुर्किने बालिकालाई न कसैले किन्न सक्छ न बेचिन नै सक्ने हुन्छ।
हजुरआमा र नातिनी अदेलियाको बिचमा जुन आँखा जुदिएको देखिन्छ त्यो जुदाइको क्षण नै त्यस बालिकको निम्ति प्रथम् शिक्षा सुरू हुन्छ। तर कस्तो खालको शिक्षा दिने यो चाहीँ सपरिवारको निम्ति चुनौतिपूर्ण छ।
कोही मानिस स्कुल जान्छ, कलेज जान्छ, डिग्रीहरू हासिल गर्छ, काम गर्छ, परिवार बनाउँछन, अनि समय पुगेपछि (६० वर्ष) अबकास प्राप्‍त गर्छ अनि कि त आकाश खस्ला कि त आफू खरानीमा परिणत हुँला भन्ने लक्ष्य लिएर कलिलै भएपनि जेष्ठा नागरिक भएर अलमलिएर बसेको हुन्छ। हाम्रो देशमा चलिआएको परम्परागत शिक्षा मानव भौगोलिकको निम्ति एक किसिमको वियोगपूर्ण छ भनेपनि हुन्छ। केही समय अघि धुलिखेल नगर पालिकको वडामा नगर प्रमुल अशोक व्याञ्‍जूले नगर सभामा धुलिखेललाई उल्लेखनीय स्थल बनाउने उहाँको सपना प्रस्तुत गर्नुभएको थियो। त्यस सभामा म पनि सामेल भएको थिएँ। त्यहाँ भौतिक संरचना, सांस्कृतिक संरचना र पर्यटकहरूको निम्ति आकर्षित गर्ने योजनाहरू प्रस्तुत गरिएको थियो। ती सबै साहसिलो, रमाइलो र धुलिखेलको निम्ति गौरबमय योजना थियो। तर कसैले पनि एउटा संरचनाको कुरो उठाएन: त्यो बौद्धिक संरचना जसको निम्ति आवाज मैले उठाएँ। गिरिजाप्रसाद कोइरालाले ६० वर्ष उमेर पुगेका कर्मचारीहरू अब निकम्मा भयो भनेर कामबाट अवकाश दिँदैमा के तिनीहरू निकम्मा नै भएर बस्ने हो त? राजनितिमा लाग्नेहरूचाहीँ नमरूञ्‍जेल निकम्मा नहुने रे! यो त मानविय पक्षपात नै ठहरिएको भनेपनि हुन्छ। जन्मेदेखि ६० वर्षसम्म लगानी गरेको बौद्धिक सम्पदा खेर गइरहनु देशको निम्ति दुर्भाग्य भने पनि हुन्छ। एक फेरा मैले ७० तथा ८० वर्ष पुगेका अमेरिकन जेष्ठ नागरिकहरूलाई काठमाण्डु घुमाउन अवसर पाएको थिएँ। तिनीहरूमा कतिपय कामबाट अबकास पाएका थिए तर तिनीहरूले आफ्नो दिमाग वा दक्षताबाट अबकास पाएका थिएनन्। तिनीहरूका सिकर्मी, डकर्मी, वेल्डर, भवन निर्माणकर्ता, शिक्षक आदि थिए। तिनीहरू भारतमा स्वंयसेवकको रूपमा आएर कुनै ठाउँमा स्कुलहरू निर्माण गरेका थिए। तिनीहरू जेष्ठ नागरिक त थिए नै तर तिनीहरूको दिमागलाई वर्षले मिचेको थिएन। ती जेष्ठ नागरिकहरू विश्‍वका विभिन्न ठाउँहरूमा गएर आफ्नो दक्षतालाई उपयुक्त ठाउँहरूमा लगानी गर्दछन्। नेपालमा कोही कोही उद्यमीहरू आफ्नो दक्षतालाई परिचालन नगरेको त होइन। धुलिखेलको अमर नाथ योगल एक उदाहरणीय शिक्षाविद् हुनुहुन्छ। उहाँ स्कुलबाट अवकास पाएर पनि धुलिखेल कलेज खोलेर यहाँका विद्यार्थीहरूलाई सहयोग गरिरहेका छन्, अर्थात् उहाँले आफ्नो बौद्धिक संम्पदालाई खेर फाल्न चाहनुभएको छैन। अमेरिकाको राष्ट्रपतिको श्रीमती एलिना रूजबेल्टले एक फेर भनेका थिए, "जुन बखत समाजमा कुनै न कुनै रूपमा देन दिन छोडिन्छ त्यो व्यक्तिको अस्तित्व अन्त हुन्छ।" तर नेपालमा सामान्यत अवकास पाइसकेका वुद्धिजीवि तथा दक्ष जनसक्ति नेपालमा खेर गइरहेको छ भन्दा अतिरंजित नहोला। यसको मुल कारण त नेपालको शिक्षा प्रणाली नै हो।
सही शिक्षा जन्मेदेखि नमरुञ्‍जेल चलिरहन्छ। नेपालमा कतिपय मानिसहरू स्कुल वा कलेज छोडेपछि किताव छुन पनि करेन्ट लाग्छ कि जस्तो अनुभव गरेको हुन्छ। बच्चाले सिक्ने पहलो शब्द "बा" वा "मा" हो। त्यो आमाबाट नै सिकिन्छ। आमा नै प्रथम गुरू हो। यति मात्र होइन मलाई मन पर्ने लेखिका एलेन जी ह्वाइटले भन्नुभएको छ कि बच्चाको सबभन्दा नजिकको परमेश्‍वर आमा नै हुन्छ। कस्तो आमाले बच्चाको दिमागमा के भरिदिन्छ त्यसले त्यस बालकको भविषय निर्धारण गरिन्छ। यो भाग्यको खेल होइन। उनले भन्छिन्, ×घरमा होस् वा स्कुलमा होस्, बालबालिकाको शैक्षिक तालिम गुँगा पशुलाई दिएको जस्तो हुँदैन (बच्चाले बा बा वा मा मा मानौँ बाच्छा वा पाठोले जस्तो त्यस्तो उच्चारण गर्‍यो भन्दैमा नेपालमा बच्चाहरूलाई जनावरको संज्ञा दिइन्छ)। प्रत्येक बालक वा बालिकको आफ्नै बौद्धिक क्षमता हुन्छ। ती क्षमताको बिकास र नियन्त्रणको निम्ति गाइड गर्नुपर्छ। लाटो पशुलाई तालिम दिनुपर्छ किनकि तिमीहरूमा तर्क गर्ने र बौद्धिक ज्ञान प्राप्‍त गर्ने क्षमता हुँदैन। तर मानविय दिमागलाई आत्मनियन्त्रण गर्न सिकाउनुपर्छ र आफूलेखि सुरूभएर मानिसहरूलाई नियममा चल्न शिक्षा दिनुपर्छ। पशुहरू मालिकको अधिनमा रहन्छ र उसको निम्ति दिमाग मालिक नै भएको हुन्छ। बालकलाई पनि आफ्नै दिमाग नभएको जस्तै गरेर तालिमा दिन सक्छ। आफ्नै बोद्धिक निर्णयलाई चलाउन नपाउँदा त्यो बालक पशु जस्तै हुन्छ। उसको व्यक्तित्व उसलाई तालिम दिनेको दिमागमा गाभिन सक्छ। उसको चाहना र लक्ष्य सबै उनलाई सिकाउनेको अधिनमा हुन्छ।" फक्रिएडु, पृ, १५,१६बाट रूपान्तरित। अर्थात् नेपालको परिप्रेक्षमा हेर्नेहो भने हामीहरूका विद्यार्थीहरू केवल पाठ्यपुस्तक र शिक्षकको प्रतिविम्ब वा फोटोकपी भएको पाइन्छ। आफ्नै दिमागलाई खेलाउने खुबीलाई शैक्षिक नितिले धरापमा पारेको हुन्छ। मानौँ फलानले लेखेको पाठ्यपुस्तक कण्ठ गर्‍यो भने पास भइहाल्छ नि अरूकेको मतलब भन्ने जस्ता सोच बिचारहरू हामीहरूका विद्यार्थीहरूमा पौडिखेलिरहेका हुन्छन्।
एलेन जी ह्वाइटले भन्छिन्, "सही शिक्षा शारीरिक, मानसिक र आत्मिक शक्तिको समुच्चरूपमा सुमधुर बिकाश हो।" जब ती तिन आयामहरू संतुलितरूपमा बिकास गरिन्छ तब त्यो मानिसले आफ्नो सिप, जोश, जाँगर, बौद्धिक क्षमता आदि आफ्नो स्वार्थभन्दा बाहिर गएर आफ्नो मानव मित्रको निम्ति परिचालन गर्दछ। बाइबलको प्रेरित पावल आग्रह पनि यही हो।
हाम्रा बालबालिकहरू पशु होइनन् तर जो मानिस पशु प्रवृत्तिको हुन्छ त्यसले मात्र तिनीहरूलाई छाउरा, गधा, भेँडा आदि भनेर सम्बोधन गर्छ। जब मेरो भर्खर जन्मेको छोरो दस दिनको थियो, मैले उसलाई किताब पढ्न सुरू गरेको थिएँ जसले गर्दा अहिले वयस्कमा पुगेतापनि सृजनात्मक पुस्तकको मोहमा छ। प्रत्येक बालकले पुस्तक पढ्ने अधिकार छ। तर आमाबाबुहरूले टीभी हेर्न, मोबाइल खेल्न समय बिताउँछ वा अरू शिक्षाप्रद क्रियाकलापमा लाग्न झ्याउ मान्छन् भने त्यस खालका बाबुआमाबाट बालकहरूले के अपेक्षा गर्न सक्छन्? होम वर्क गर भनेर जोड गर्ने तर आफूचाहीँ टीभी हेर्न व्यस्त हुन्छन्। बाबुआमाको निर्देशन बालबालिकाहरूको निम्ति ठट्टाको रूपमा कोठामा तैरिरहेका हुन्छन्।
त्यसकारण मेरो कल्पनामा नातिनी अदेलियाले आफ्नी हजुर आमा प्रोफेसर कनीलाई सोधेकी प्रश्‍न, "हजुरआमा तपाईँले मलाई के सिकाउनुहुन्छ?" सबैको निम्ति हुनुपर्छ, किनकि जुन दिन हामी सिक्न रोक्छौँ त्यो दिन हामीहरूको अस्तित्व समाप्‍त हुन्छ। यो पनि ख्याल गर्नु जरूरी छ: प्रत्येक मानिस चाहे बालक नै किन नहोस् त्यो सबैको निम्ति शिक्षक हुन्छ। यो अर्कैं विषयबस्तु हो जुन् यहाँ व्याख्या गर्न ठाउँ छैन।