जन्मको मोल चुकाउन नजान्ने समाज

जन्मको मोल चुकाउन नजान्ने समाज
- कपिल काफ्ले

मातृत्वको मूल्य चुकाउँछु भन्नु धृष्टता मात्र हो । अनमोल छ मातृत्व ! हामी केही कर्तव्य मात्र पूरा गर्नसक्छौं । आम आमाहरुका लागि केही सकारात्मक योगदान दिने चिन्तनले सभ्य समाजको निर्माणमा सघाउ पु¥याउँछ । आमाले हाम्रालागि भोग्नुपरेको समस्या वा असहज अवस्थालाई पहिचान मात्र गरियो भने पनि आमाको सम्मान हुनेछ । प्रजननका लागि आमाले भोग्नुपरेको पहिलो असजिलो अवस्था भनेको मासिकश्राव नै हो । १३–१४ वर्षदेखि सुरु हुने यस प्राकृतिक चक्रका बारेमा कुरा उठाउँदा कतिलाई हल्का र सामान्य विषय लाग्नसक्छ । तर, मातृजातिप्रति सम्मान गर्नेहो भने कुरो यहींबाट सुरु गर्नैपर्छ ।
हामी गर्भमा रहँदासम्म आमाको मासिक रक्तश्राव भएन । अर्थात् त्यही रगतले हाम्रो शरीर बन्यो । समाजले छिः छिः र दुर्दुर् गर्ने रगतबाट बनेको हाम्रा हातले चढाएको प्रसाद भगवानले स्वीकार गरिरहेका छन्, मानिस भने त्यही मासिकस्रावका आधारमा आमाहरुलाई मानवोचित व्यवहारसम्म गरिरहेको छैन । नेपालको पश्चिमी भूभागका छाउगोठ ढलेपनि पूर्वमा मानवीय संवेदना र सामाजिक चेतनाको सूर्य नउदाएका कारण त्यस्ता गोठ नहुने शहर र गाउँमा पनि मासिकश्रावका बेला महिलालाई दुव्र्यवहार गरिएको छ । उनीहरुलाई पुरुषसरह सम्मान दिइएको छैन । मानवजातिको अस्तित्वलाई निरन्तरता दिन प्रकृतिले चलाएको धर्म पूरा गर्नका लागि प्राकृतिक रुपमा सिर्जित जैविक विषयलाई हामी विभेदको आधार बनाइरहेका छौं ।
मासिकश्रावका बेला महिला तथा किशोरीमाथि समाजले गर्ने विभेदपूर्ण व्यवहार सभ्य समाजका लागि सुहाउने विषय हो ? अवश्य होइन । नेपाल सरकारले पनि यस विषयलाई सिद्धान्ततः स्वीकार गरेको छ । खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयको पहलमा छोइछिटोको अभ्यास अन्त्य गर्न, दैनिक जीवनमा लैङ्गिक समानताको अभ्यास हुनुपर्छ । प्रजनन समाजको आवश्यकता हो भने यसको अभिन्न पक्ष मासिकस्राव महिलाको मात्र सरोकार र समस्याको विषय कसरी हुनसक्छ ? मासिकश्रावलाई महिलाको मात्र समस्या नभनी पुरुष तथा युवाको भूमिका आवश्यक पर्ने विषयका रुपमा समाजलाई प्रशिक्षित गर्नु आवश्यक छ । मासिकधर्मका सन्दर्भमा समाजलाई सचेत गराउन अभियानका साथ लाग्नसकियो भने ‘मेनइङ्गेज’ आन्दोलनले पनि उचाइ पाउनेछ । लेखक तथा लैङ्गिक समानता अभियन्ता राधा पौडेलका विचारमा शान्ति, न्याय, मानवअधिकार र महिला सशक्तिकरणका लागि मासिकश्रावका कारण गरिने दुव्र्यवहार असभ्यता र अज्ञानताको परिचायक हो । मासिकश्रावलाई ठीक व्यवस्थापन गर्नुको साटो महिला तथा किशोरीलाई छोइछिटो गर्नु समाज विकासको सूचकांकमा आपूmलाई कमजोर बनाउनु मात्र हो । मदनपुरस्कार विजेता पौडेल सरकारका तर्फबाट विभेदको उन्मूलनका लागि भएको प्रयासलाई स्वागत गर्नुहुन्छ ।
कतिपय पुरुषले यस सन्दर्भमा कलम पनि चलाउँदै आएका छन् । गंगराज पण्डितले आफ्नो आलेखमा भनेका छन्, ‘प्रकृतिलाई हामी भगवान मान्छौं भने हामीले प्रकृतिका हरेक नियम र प्रकृयाहरूको पूूजा गर्नुपर्ने हो तर विडम्वना कतिपय ब्यवहारहरूमा प्रकृतिको यस्तो नियमलाई पूजा नभएर पाप तथा अभिशापका रूपमा परिभाषित गर्ने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो नेपालका केही समुदायहरूमा प्रचलित छाउपडी प्रथा ।’
‘महिला अधिकार र यौन स्वतन्त्रता’ शीर्षकको आलेखमा रमा पनेरु एक विदेशी साथीको अनुभव लेख्नुहुन्छ, ‘मेरा आफ्नै गोपनीयताहरु छन् । मलाई अरुले मेरो बारेमा निर्णय गरेको मन पर्दैन ।’ यस सन्दर्भले के देखाउँछ भने, मासिक रक्तश्राव एक व्यक्तिगत शारीरिक अवस्था पनि भएकोले यसलाई लिएर अरुले नियम लाद्न मिल्दैन । महिलाले महिनावारीको अवस्था लुकाउन चाहेमा उनले यो स्वतन्त्रता पाउनुुपर्छ । यसलाई बार्ने वा यस्तो अवस्थामा आराम गरेर बस्नेहो भनेपनि उनलाई त्यो अधिकार दिइनुपर्छ । उनको शरीर उनको अधिकार हो ।
महिनावारीका कारण महिलामाथि हुने विभेद र हिंसाविरुद्ध सशक्त रुपमा अभियान चलाउँदै आएकी राधा पौडेल लेख्नुहुन्छ, मासिकश्रावका बेला छाउगोठमा बस्दा महिलाका एकसाथ १० प्रकारका संवैधानिक मौलिक हक हनन हुन्छन् । परिवारबाट बञ्चित भएर बस्नुपर्ने, विद्यालयका सहपाठीसँग छुट्टिनुपर्ने, परिवारका पुरुष तथा अन्य वरिष्ठलाई छुनसम्म नहुने, स्वतन्त्र ढंगले हिंडडुल गर्न नहुने, समुदायका सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा सहभागी हुनबाट वञ्चित रहनुपर्ने, फलफूल र तर्कारीका बोटबिरुवा छुन नहुने, दूध र दूधबाट बनेका परिकार खान नहुने, छाउगोठमा रहेका बेला जँड्याहा र गुण्डागर्दी गर्ने व्यक्तिबाट पीडित हुने असुरक्षाको अवस्था, जंगली जनाबर र सर्पआदिको टोकाइमा पर्नेआदि छन् । छाउगोठमा पानीको स्रोत हुँदैन, शौचालय, सरसफाइ, विद्यालय, मन्दिरको सुविधाआदि पाइन्न, पर्याप्त कपडा र सेनिटरी टावेल पाइँदैन, स्वास्थ्यस्थितिमा चुनौती आउँछ । किशोरहरु यस्ता विभेदकारी नियमभन्दा बाहिर हुन्छन् भने किशोरीलाई नियम थोपरिन्छ, महिनावारीका सम्बन्धमा किशोरीलाई यो जैविक कार्य हो र मानव–जन्मका लागि यो एक अनिवार्य प्रक्रिया हो भन्ने तथ्यप्रति सचेत गराइँदैन । आफ्नो शरीरमा आएको परिवर्तनप्रति जानकार हुनपाउनु उनीहरुको आधारभूत अधिकार हो जसको बेवास्ता भएको छ ।
पौडेलले नेपालको संविधान २०७२ को धारा ३७ ले नागरिकलाई ‘उपयुक्त आवासको अधिकार’ प्रदान गरेको ‘छाउगोठ’मा बस्दा महिला र किशोरीको उपयुक्त आवासको अधिकार पूर्ण नभएको तर्क दिनुभएको छ । छाउगोठमा रहँदा महिला तथा बालिकाका मानवअधिकार हनन भएको हुन्छ, उनीहरु हिंसामा पर्दछन् । उनीहरुमाथि यौनिक हिंसा पनि हुनेगरेका छन्, यस प्रकारको हिंसा नभएपनि स्वास्थ्य र सुरक्षाका दृष्टिले कमजोर ठाउँमा बस्न बाध्य पारिनु मात्र पनि उनीहरुमाथिको हिंसा हो । यसलाई संरचनागत हिंसाका रुपमा लिनुपर्दछ ।
छाउगोठमा रहँदा किशोरी तथा महिलाहरु शान्ति, मानवअधिकार र सशक्तीकरणका विभिन्न सुविधा र अवसरबाट वञ्चित भएका हुन्छन् । यस व्यवहारले पितृसत्तात्मक चिन्तन र पुरुषत्वको अभिमान प्रदर्शन गर्दै महिलामाथि विभेदपूर्ण व्यवहार गर्दछ । समाजले किशोरी र महिलामाथि मासिकधर्मका आधारमा विभेदपूर्ण व्यवहार गरेको देखेर कलिला बालबालिकाहरु पनि यही सिक्छन्, पछिसम्म त्यस्तै विभेदकारी व्यवहार गर्नपुग्छन् । यस प्रकारको व्यवहारका कारण किशोरी तथा महिलाहरु हीनताबोधले ग्रस्त बन्न पुग्छन्, उनीहरु आफूलाई दोस्रो दर्जाका नागरिकका रुपमा आत्मस्वीकृति जनाउने अवस्थामा पुग्छन्, भलै मानसिक विद्रोह उनीहरुमध्ये कतिमा प्रज्वलित भइरहेको हुनसक्छ । महिनाको पाँच दिन रक्तश्रावमा रहेका किशोरी तथा महिला त्यहाँ बस्ने बेलामा मात्र हीनताबोधले ग्रस्त हुँदैनन्, महिनाको ३० दिन नै उनीहरुको अगाडि ठिङ्ग उभिएर त्यस गोठले ‘तेरो नियती त मैसम्म त हो’ भनेर मानसिक रुपले ङ्याकिरहेको हुन्छ ।
मे २८ लाई विश्वले २०१४ देखि अन्तर्राष्ट्रिय माहिनावारी दिवस मनाउन थालेको छ । यस अवस्थामा गरिने विभेदले मानवअधिकार हनन गर्ने व्याख्या संयुक्त राष्ट्रसंघको छ । मानवजातिको सिर्जनाका लागि महिला जातिमा हुने मासिक रक्तश्राव उनीहरुको मात्र सरोकारको विषय नभएर आमसमाजको जिम्मेवारीको विषय हो भन्ने धारणा आम पुरुषमा आउनु आवश्यक छ । राधा भन्नुहुन्छ, यस सन्दर्भलाई सेनिटरी टावल, शौचालय, सफा वा फोहर गोठको विषयमा मात्र सीमित गर्नहुन्न, वास्तवमा यो प्रतिष्ठा र सम्मानको विषय हो । कति आन्दोलनकारीहरु दुर्भाग्यवश छाउगोठ सफा हुनुपर्छ, सुविधायुक्त हुनुपर्छ भन्ने पक्षमा केन्द्रित छन् । कतिको माग छाउगोठ उन्मूलनमा छ, जबकि किशोरी तथा महिलाको सम्मान हुनुपर्छ भन्ने विषय गौण बनेको देखिन्छ ।