बौद्ध विद्यालय निर्माण

बौद्ध विद्यालय निर्माण

इलाम, २२ साउन । इलामको माई जोगमाई गाउँपालिका–१ मा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा साङ्गेछोवोलिङ गुम्बामा हिसे होसल सेरव रडिलिङ आधारभूत विद्यालय निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र आर्थिक सहयोग गरी जम्मा रु २१ लाख सात हजारको लागतमा विद्यालय निर्माण सम्पन्न गरिएको गुम्बाका लामा पेम्वा शेर्पाले जानकारी दिनुभयो । उक्त विद्यालयमा बौद्ध शिक्षाका साथै नैतिक शिक्षा पनि दिँदै आएको शेर्पाले बताउनुभयो । नवनिर्मित उक्त विद्यालयको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले संस्कार, संस्कृतिमात्र नभई यो एउटा ज्ञानको शिक्षालय पनि भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जितबहादुर राईले यस क्षेत्रको संस्कृतिको जगेर्ना गर्न र नैतिक शिक्षा दिलाउन यस विद्यालयले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।