मन्टेश्वरी उपयुक्त शिक्षण विधि- सुवर्णकेशरी

मन्टेश्वरी उपयुक्त शिक्षण विधि- सुवर्णकेशरी

सुवर्णकेशरी महर्जन, संस्थापक प्रिन्सिपल
बालरमन बाटिका, पूर्व प्राथमिक विद्यालय, नयाँ बजार

म सुवर्णकेशरी महर्जन, विगत दुई दशकदेखि विभिन्न विद्यालयमा अध्यापन गराउँदै हाल आफ्नै पूर्व प्राथमिक विद्यालय संचालन गर्दैछु । मैले सन् २००५ मन्टेश्वरी तालीम लिए पश्चात मेरिडियन र मन्टेश्वरी किन्डरवल्र्डमा काम गर्ने मौका पाएको थिएँ । सन् २००६ सालमा खुमलटारमा स्थापना भएको यूलेन्स स्कुलमा स्थापनाकाल देखि नै मैले किन्डरगार्डेनमा काम गर्ने मौका पाएको थिएँ । उक्त विद्यालयबाट प्रदान गरेको तीन महिने ब्याङ्क स्ट्रेट फिलोसोफीमा आधारित तालिम पश्चात नै प्राथमिक शिक्षाका लागि आवश्यक गहन तालीममा अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सिप हासिल गर्ने अवसर पाएँ । यूलेन्स स्कूलमा आवद्ध रहँदा नै पूर्व–प्राथमिक शिक्षाको बारे अझ बुभ्mदै गएँ । यो क्षेत्रमा अझै राम्रो सेवा दिन के गर्न सकिन्छ भनी थप अध्ययन गर्दै गएँ । यसै क्रममा बेलायतबाट मन्टेश्वरी प्रारम्भिक बालविकास शिक्षा विषयमा थप अध्ययन पुरा गरें ।
बेलायत गएर अध्ययन गर्नुको मूल उद्देश्य नै आप्mनै देशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्व प्राथमिक विद्यालयको स्थापना गर्नु थियो । यही सोचलाई अघि बढाई वि.सं. २०६८ सालमा यस्तै नै सोच भएको सूमहको सहकार्यमा टाइम्स इन्टरनेशलन स्कूलको स्थापना भयो । यो विद्यालयले छ वर्षको अवधिमा नै सोचेभन्दा राम्रो गति लिन सफल भयो । यो सफलता पछि अहिले नयाँबजारस्थित बालरमन बाटिका पूर्व प्राथमिक विद्यालय संचालन गरिरहेकी छु ।
मानवजीवनमा प्रारम्भिक बालविकासको स्थान र महत्वलाई बुझेर शिक्षाविद्हरु र मनोवैज्ञानिकहरुले विभिन्न शिक्षण पद्धतिको विकास गरे । जसमध्ये १९ औं शताब्दीको शुरुवातसँगै इटली कै पहिलो महिला डा. मारिया मन्टेश्वरीले बालबालिकालाई बुझ्दै जाँदा र सँगै काम गर्दै जाने क्रममा उहाँले एकदमै उपयुक्त र प्रभावकारी पढाउने विधिहरु पत्ता लगाउँदै जानुभयो । जसको फलस्वरुप आज मन्टेश्वरी शिक्षण विधि संसारभर प्रचलनमा आएको छ । यो शिक्षण विधिमा बालबालिकाले पाँचवटै ज्ञानेन्द्रीय प्रयोग गरेर सिक्ने गरिन्छ । मन्टेश्वरी शिक्षण पद्धति फरक अनि उपयुक्त शिक्षण विधि हो, जसबाट बालबालिकाको सोच्ने शक्ति र आत्मविश्वासको स्तर बढ्नाका साथैे भित्री चाहना र क्षमतालाई प्रस्फुटन हुने वातावरण प्रदान गर्छ । र साथै उनीहरुमा भित्री मन देखि नै सिक्ने चाहनालाई जगाउँछ । बालरमन बाटिका पूर्णरुपमा मन्टेश्वरी शिक्षण विधिबाट नै संचालित छ ।

बालरमन बाटिका नयाँ प्रयोगसहित अझ धेरै अनुभवका साथ शुरु भएको हो । जहाँ बालबालिकाहरुको विकासको क्षमता बुझेर उनीहरुको उमेर सुहाउँदो क्रियाकलापहरु गराउँदै मन्टेश्वरी विधिबाट शिक्षा दिइन्छ । अहिले विश्वभरी नै बालबालिकाको पूर्व बाल्यावस्थाको महत्वलाई मनन गरी विभिन्न अध्ययन र अनुसन्धान भइरहेको छ । नेपालमा पनि सरकारी÷गैरसरकारी निकायबाट समेत राम्रो बनाउन यस क्षेत्रमा लगानी गरी सबै बालबालिकालाई राम्रो शिक्षा दिई भोलि देशको लागि सक्षम र असल नगरिक बनउने प्रयास भइरहेको छ । बालबालिकाको शिक्षाप्रति विशेष झुकाव भएकै कारण थप ज्ञान प्राप्त गर्न बाल विकास विषयमा स्नातकोत्तर गरिरहेकी छु ।
गर्भावस्थादेखि आठ वर्षसम्मको समय मानवजीवनको आधारशीला नै हो । यस अवधिमा बालबालिकाले प्राप्त गर्ने शिक्षाले उनीहरुको व्यवहार, मनोभावना, क्षमता साथै भावी जीवनमा पनि प्रभाव पार्दछ । मानव जीवनमा आवश्यक धेरै ज्ञान, सीप आचरणहरु बालबालिकाले पाँच वर्षभित्र सिक्छन् । त्यसैगरी, मस्तिष्कको निर्माण र बौद्धिक विकास हुने अवस्था पनि पूर्व बाल्यावस्था नै हो । जन्मेको समयदेखि ५ वर्षसम्ममा शिशुको मस्तिष्क दिमागका कोषहरु वयस्कको तुलनामा बढी झाँङ्गिन्छ । बाल्यकालको उत्प्रेरणावद्र्धक अनुभवबाट बाल मस्तिष्कमा संकलन भएका सूचनाहरु दिगो रहिरहन्छ । जन्मेको अवस्थामा २५ प्रतिशत र छ वर्षको उमेरभित्र ९० प्रतिशत मष्तिष्कको कोषहरु विकास हुने गर्छ । त्यसैले पूर्व बाल्यावस्था एकदमै जटिल अवधि हो । बालबालिकाले पूर्व वाल्यावस्था अथवा छ वर्षको उमेर भित्र यदी राम्रो स्वास्थ्य, स्याहार अनि शिक्षा प्राप्त गर्न सकेमा भविष्यमा एक सफल, असल र सक्षम नागरिक बन्न सक्नेछ भन्ने कुरा अनुसन्धानबाट पुष्टि भैसकेका छन् ।
यी सम्पूर्ण तथ्यलाई मनन गरी बालरमन बाटिकाले बालप्रिय वातावरण सृजना गरी हरेक बालबालिकाले आप्mनो अधिकतम क्षमता विकास गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । बालबालिकाको आप्mनै अलग–अलग सिक्ने र बुभ्mने क्षमतालाई ध्यानमा राखी शिक्षा दिइनुका साथै हरेक बालबालिकालाई जीवनपर्यन्त सिकाइ बनाउने एक मात्र लक्ष्य नै बालरमन बाटिकाको रहेको छ । बाल विकासको अध्ययनले के प्रमाणित गर्छ भने बालबालिकाले आफैले गरेर वा अरुलाई सिकाएर सिक्ने विधि झण्डै ९० प्रतिशत प्रभावकारी हुने, सुनेर र हेरेर मात्र सिक्दा २० प्रतिशत प्रभावकारी हुने र पढेर मात्र सिक्दा १० प्रतिशत प्रभावकारी हुने गर्छ । बाल रमन बाटिकाले यी सम्पूर्ण तथ्यलाई मनन गरी बालबालिकाको सर्वाङ्गिण विकासलाई ध्यानमा राखी हेरेर, सुनेर, पढेर, प्रदर्शन, छलफल अभ्यास गरेर साथै उमेर र क्षमता अनुसारको क्रियाकलापमा स्वयंलाई अनुभव गराई बालबालिकाहरुको बौद्धिक विकासमा सक्दो टेवा पु¥याउने लक्ष्य राखेको छु ।
बालबालिकाको सुखी र समुन्नत भविष्य सुनिश्चित गर्नु एवं उनीहरुको समग्र विकास (शारिरिक, बौद्धिक, संवेगात्मक र सामाजिक विकास) लाई सहज बनाउन विद्यालयको साथै अभिभावकको पनि त्यतिकै भूमिका रहन्छ । तसर्थ, अभिभावकले पनि विभिन्न बालविकासका कुरालाई ध्यानमा राखेर विद्यालयसँग सहकार्य गर्दै जान बालबालिकाको स्वास्थ्य अनि विकाससँग सम्बन्धित अभिभावक अभिमुखीकरण तालिमका साथै अन्तक्रिया कार्यक्रम पनि गर्दै लाने लक्ष्य बालरमन बाटिकाले लिएको छ ।

म पूर्व वाल्यावस्था शिक्षा शिक्षक सङ्घ (इसिइटिए) सँग पनि आवद्ध छु । हामीले यसमार्फत विभिन्न पूर्व प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाहरु तथा बालबालिकाका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौं । हरेक वर्ष बाल दिवसको अवसर पारी विभिन्न १५ देखि २० वटा स्कूलका बालबालिकाको लागि समूहिक रुपमा सांस्कृतिक कार्यक्रम जाडो महिनामा किण्डर स्पोर्टस् आयोजना गर्दै आएका छौं । यसका साथै वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौँ र साथै विद्यार्थी आदान प्रदान कार्यक्रम पनि समय समय मा गर्दै आएका छौं ।
प्रस्तुती: रीना यादव/विनिता केसी