मेडिकल कलेज सम्बन्धनको विवाद कायमै

मेडिकल कलेज सम्बन्धनको विवाद कायमै

काठमाडौं, १५ भदौ । त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेलगत्तै चौतर्फी टिकाटिप्पणी सुरु भएको छ ।
कलेजले भने आफूहरुको सम्पूर्ण पूर्वाधार पूरा भएको र यसको लागि योग्य रहेको बताएको छ । कलेजका अध्यक्ष डा. जैनुद्धिन अन्सारीले आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्बन्धन प्राप्त गरेको बताउँदै भन्नुभयो,,‘अहिले हाम्रो कलेज प्रारम्भिक परीक्षणकालमा छ, अझै धेरै प्रक्रियाहरु बाँकी छन् ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले काठमाडौं नेशनल मेडिकल कलेजका बारेमा आफुलाई विरोधीको आँखाले नहेर्न आग्रह गर्दै डा. गोविन्द केसीको आन्दोलनको क्रममा भएका सम्झौताको विपरित राजधानीमा कुनैपनि मेडिकल कलेजको सम्बन्धन दिन नहुने जनाउनुभयो ।
डा. श्रेष्ठले ‘राजधानीमा ३० लाख मानिस बस्छन्, यहाँका मानिसको लागि अहिले भएका अस्पतालहरु नै काफी छन्, आगामी १० वर्षभित्र कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिउँ, मुलुकका दुर–दराजमा सेवा पु¥याऔ भन्दा गोविन्द केसी र हामी यो मुलुकको विकासको बाधक हुने र स्वास्थ्य क्षेत्रमा ब्रम्हलुट गरेर जनताको पसिना चुस्नेहरु विकासप्रेमी हुने, हामी कसैको बिरोधी होइनौ, राज्यले अराजकता मच्चाईरहेको छ, हामी नेशनल मेडिकल कलेजको पनि विरोधी होईनौं, हामी त प्रक्रियाको विरोध गरिरहेका छौं।’ भन्नुभयो ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले काठमाडौ नेशनल मेडिकल कलेजको बारेमा सरकारले काउन्सिललाई कुनै जानकारी नदिएको स्पष्ट गर्नुभयो ।
कलेजका सञ्चालकले सर्वोच्च अदालतको आदेश अनुसार नै अस्पताल सुरु गरेको दाबी गरेका छन् ।