ओझेलमा यौनहिंसा र विद्यालय शिक्षा

ओझेलमा यौनहिंसा र विद्यालय शिक्षा
- कपिल काफ्ले

नेपाली समाजले आज पनि यौनहिंसालाई गम्भीर रुपमा लिएको छैन । महिलामाथि पुरुषले गर्ने यौनहिंसालाई समाजले ‘जबानीको भूल’ भनेर हाँसोमा उडाउने गरेको छ । बलात्कारदेखि, अनिच्छापूर्वक यौनआनन्दका लागि छुने, जिस्काउने, इशारा गर्ने, निरुत्साहन गर्ने यावत हरकत यौनहिंसा हुन् र यस्ता गतिविधि गर्ने जोकोही कानुनका दृष्टिले सजायको भागिदार हुन्छ भनेर राष्ट्रिय–अन्तर्राष्टिय कानुनले बोलेका छन्, तरपनि यस्ता अपराध समाजमा निरन्तर भइरहेका छन् । यसो हुनुमा सामाजिक मानसिकता कारक बनेको छ । हालै, ललितपुरको इमाडोलमा रहेको चिल्ड्रेन गार्डेन स्कूलमा ८ कक्षामा पढ््ने छात्राहरु आफ्नै विद्यालयका मिलन शाक्य नामका प्रिन्सिपल तथा सञ्चालकबाट यौनहिंसामा परेको जानकारी बाहिर आयो । प्रोएक्टिभ पत्रकारिता गर्दैआएका जोसिला पत्रकार रवि लामिछानेले यस विषयलाई आफ्नो टेलिभिजनमार्फत गम्भीरताका साथ बाहिर ल्याए । उनले संकलन गरेको भिडियोमा किशोरीहरुले रुँदै दिएको बयानअनुसार बाहिर मैदानमा खेलिरहेका वा कक्षामा पढिरहेका किशोरीहरुलाई मिलनले आफ्नो कार्यकक्षमा बोलाउने, अंकमाल गर्ने, चुम्बन लिने, कपडाभित्रबाट हात छिराएर सम्वेदनशील अंगहरु खेलाउने गर्दारहेछन् । ‘म कक्षाकोठा अगाडि निहुरेर जुत्ताको तुना मिलाउँदै थिएँ, प्रिन्सिपल सरले ए मैया यहाँ आऊ भनेर बोलाउनुभयो’ पीडित छात्राले आँशुपुछ्दै भनेकी छन्, ‘जानासाथ अंकमाल गर्नुभयो, किस गर्नुभयो, काखमा बसाउनुभयो र लुगाभित्र हात पसाएर छाती खेलाउनुभयो.....।’ कामवासनाले ग्रस्त विवेकहीन मिलनको स्वर अझै ठूलो छ, ‘यी सबै मेरा छोरीका उमेरका केटीहरु हुन्, उनीहरुलाई अंकमाल गर्नु र म्वाई खानु ठूलो कुरो होइन ।’ यो सबै मिलनको कुतर्कबाहेक केही पनि होइन भनेर सबैले सहजै बुझ्छन् । यस सम्बन्धमा अनौठा केही सन्दर्भहरु पनि जोडिएका छन् । पत्रकार रवि लामिछानेसँग चरचर्ती बाझ्ने एक महिला पनि देखापरिन् भिडियोमा । तपाईं आफै केटी मान्छे भएर यौन दुव्र्यवहारमा परेकोमा गुनासो गर्ने छात्राहरुको विपक्षमा कसरी बोल्नसक्नुहुन्छ भनेर पत्रकार लामिछानेले प्रश्न गर्नुपर्ने अवस्था पनि भिडियोमा देखिन्छ । त्यहाँ छोरीहरुलाई पढ्न पठाउने अभिभावकले ‘पिन्सिपलसँग चाहिं बच्नु है’ भनेको पनि जानकारी गराइयो । प्रिन्सिपलसँग बच्दै हिंड्नुपर्ने विद्यालयमा छोरीलाई पढ्न पठाउनैपर्ने बाध्यताले दुई तथ्यप्रति हाम्रो ध्यान तान्छ– एक, जहाँ गएपनि कोही न कोही यस्तै यौनपिपाषु हुन्छन् नै, यहीं बचेर पढे हुन्छ, दुई, यौनहिंसा ठूलो विषय होइन, यहीं सतर्क हुनसकिन्छ । महिलास्वयम्ले यौनहिंसालाई सामान्य रुपमा लिएको देख्दा फेरि दुई पक्षमा हाम्रो ध्यान जान्छ– एक, म पनि कुनै बेला यसरी नै यौनहिंसामा परेकी थिएँ, जसरी मैले सहें त्यसरी नै नयाँ पुस्ताले सहे हुन्छ, यो नयाँ मुद्दा होइन, दुई, यस्ता सामान्य विषयमा शक्तिमा रहेका व्यक्ति (प्रिन्सिपल) सँग दुश्मनी गर्नहुन्न । जसरी हेरेपनि यौनहिंसालाई हाम्रो समाजले सामान्य रुपमा लिएको छ । कतिपय स्वनामधन्य राजनीतिज्ञहरु थिए र छन् जो ‘बजारमा दूध पाइन्छ भने गाई किन पाल्ने’ भनेर दाँत देखाउँथे, वरिपरि बसेर सुन्नेहरु गलल्ल हाँस्थे । बजारको दूध खाँदा दुवै पक्षबीच सहमतिमै किनबेच हुन्थ्यो कि शक्तिका आडमा यौनहिंसा हुन्थ्यो, हाँस्नुअघि कसैले ध्यान दिएन । यौनहिंसालाई गम्भीर रुपमा लिने प्रचलन भएको भए हाँस्नुअघि मानिसले एक पटक अवश्य सोच्नेथियो । दुई वर्षअघि, २०१५ मा युएनएफपीएले सार्वजनिक गरेको एक रिपोर्टमा महिलाविरुद्ध हुने यौनहिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अनिवार्य रहेको बताइएको छ । महिला तथा बालिकाविरुद्ध हुने अधिकांश हिंसाका लागि पुरुष र केटाहरुलाई प्रशिक्षण गर्नु, बालक अवस्थादेखि नै उपयुक्त वातावरण प्रदान गर्नु आवश्यक छ । यौनहिंसाविरुद्ध महिला मात्र बोल्ने, पुरुष भने चुप लागेर बस्ने, त्यो पनि हाम्रोजस्तो पितृप्रधान समाजमा, यसरी यौनहिंसा न्यूनीकरण हुनसक्तैन । युएनएफपीएले पुरुष र केटाहरुलाई लैङ्गिक समानताका विषयमा प्रशिक्षणपछि सार्वजनिक कार्यक्रममा यौनहिंसा अन्त्यका लागि आ–आफ्नोतर्फबाट योगदान दिने प्रतिवद्धता जनाउन आह्वान गरियो, सबैले त्यस्तो हिंसा नगर्ने, कसैले गरेमा विरोध जनाउने वचन दिए । त्यस्तै, केयर नेपाल नामको संस्थाले कपिलवस्तु, चितवन र मकवानपुरमा ५० पुरुष अभियन्ता तयार पा¥यो, आज पनि ती अभियन्ताहरु महिलाविरुद्ध हुने सबैप्रकारका हिंसा अन्त्यका लागि सक्रिय छन् । यस्ता अभियान घर–घरमा हुनेहो भने यौनहिंसा न्यूनीकरण हुन्छ । छोरीहरुलाई ‘साँझमा बाहिर नजा, बलात्कृत होलिस्’ भनेर डर देखाउने बाबुआमाले छोराहरुलाई ‘खबरदार, कुनै केटीलाई दुव्र्यवहार गर्लास्, नैतिकपतन भएर जेल जालास्’ भनेर सतर्क गराउँदैनौं । यहींनिर त्रुटि छ । यस लेखकका परिचित एक वृद्ध एकदिन गौरवसाथ हाँसिरहेका थिए, उनले कारण बताए, ‘मेरो जेठो नातिले भाडामा बस्ने छ नि माया, उसको काखीमुनि समाइदिएछ ।’ ती परिचित अहिले यस संसारमा छैनन्, उनको १७ वर्षको नातिले अहिले ३० काटिसकेको छ । बाबुआमाकै आड पाएका कारण भिडभाड बसमा महिला तथा किशोरीलाई संवेदनशील ठाउँमा छोएर जीवन सफल भएको ठानिरहेको बुझ्नमा आएको छ । महिला र किशोरीमाथि हुने यौनहिंसाको क्षेत्रमा सार्वजनिक सवारीसाधन एक प्रमुख हो । गत वर्ष मात्र रुकुमकी एक किशोरीलाई अपराधीहरुले बसभित्रै बलात्कार गरेको समाचार सार्वजनिक भयो । हिन्दी सिनेमाको नक्कल गर्न खप्पिस नेपाली समूहले तीन वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा घटेको घटनाकै शैलीमा किशोरीलाई योनहिंसाको शिकार बनायो । रुकुमदेखि नेपालगञ्जसम्मको यात्रामा रहेकी ती किशारीका अपराधीहरुलाई न्यायिक कठघरामा उभ्याउन नसक्नु राज्यको लज्जाको विषय हुनुपर्ने हो । यौनहिंसाको वैध आधार बनेको छ जबरजस्ती विवाह, अनमेल विवाह र बालविवाह । विवाह गरेकी श्रीमतीसँग श्रीमान्ले जसरी यौनसम्पर्क गरेपनि समाज बोल्दैन । कानुनले ‘वैवाहिक बलात्कार’ लाई अपराध मानेपनि अदालतमा यस्ता मुद्दा विरलै दर्ता हुन्छन् । युनिसेफकाअनुसार दक्षिण एसियामा नेपाल तेस्रो अधिक प्रतिशतमा बालविवाह हुने मुलुक हो । नेपालमा ३७ प्रतिशत केटीहरुको विवाह १८ वर्षको उमेर पुग्नुअघि नै हुनेगर्छ, यसमा पनि १० प्रतिशतको विवाह १५ वर्षभित्रै हुनेगरेको छ । नेपालको कानुनले विवाहको उमेर केटा र केटी दुवैका लागि २० तोकेको छ । बालविवाह नेपालमा सन् १९६३ देखि नै गैरकानुनी घोषणा भएको हो । तर, आजपनि १४–१५ वर्ष उमेरका छोरीका बाबुआमा उनीहरुको विवाहका लागि केटा खोज्नथालेको यत्रतत्र देखिन्छ । यस अभ्यासले किशोरीका श्रीमान्लाई यौनदुव्र्यवहार गर्ने लाइसेन्स प्राप्त हुन्छ । महिला तथा किशोरीमाथि हुनै यौनहिंसाको आधार हो अधिनायकवादी पुरुषत्व वा हेपाहा प्रवृत्ति । यो एक प्रकारको महामारी हो जसले पुरुषलाई महिलामाथि शोषण र हिंसा गर्न सिकाउँछ । पदीय हैसियत, धन वा अन्य स्रोतसाधनले शक्तिशाली महिलालाई देख्दा नजाग्ने यौनप्यास अशक्त महिला वा किशोरीमाथि मात्र किन पोखिन्छ ? यस विषयमा चिन्तन गरौं र महिलालाई सशक्त बनाऔं र पुरुषलाई सभ्य नागरिन हुन सिकाऔं, यही नै यस रोगको समाधान हुनेछ ।