गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’
तेह्रथुम, २६ भदौ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् । माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो । मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा । गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो । “गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ । जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन । “बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ । ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ । गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ । माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।रासस