बालबालिकाले प्रविधि जानेपनि परम्परा बिर्सन थालेका छन्- शिक्षाविद् कोइराला

 बालबालिकाले प्रविधि जानेपनि परम्परा बिर्सन थालेका छन्- शिक्षाविद् कोइराला

विद्यालयमा आाधाभूत तहमा भर्ना हुनुपुर्व साना साना बालबालिकालाई बालशुलभ चरित्र र रुचिअनुसार दिइने शिक्षाले ठूलै अर्थ र महत्व राख्छ । र सानासाना नानीहरुको रुची र चाहानाअनुसार ऊनीहरुलाई खेल्दै, रमाउँदै सिक्ने वातावरण दिन जरुरी छ । उनीहरुलाई कलिलो उमेरमा शिक्षा दिने उद्देश्यले सरकारी र निजी क्षेत्रबाट स्थापित प्रारम्भिक बालविकास केन्द्र (इसिडी) वा पूर्व प्राथमिक विद्यालय (शिशु कक्षा) शिक्षा, त्यहाँ बालबालिकालाई गरिने व्यवहार, बालकेन्द्रको वातावरण कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईरालासँग गरिएको कुराकानी:


-नेपालको प्रारम्भिक बालबिकास शिक्षाको वर्तमान अवस्था कस्तो देख्नुभएको छ ?


:पछिल्लो समयमा बालविकास शिक्षाको लहर नै चलेको मान्न सकिन्छ । कतिपयले आफ्ना बालबच्चालाई समय दिन नसकेर पनि बालविकास कक्षा वा मन्टेश्वरीमा लगेर भर्ना गरिरहका छन् । आजकाल मानिसहरुका थोरै सन्तान हुने भएकाले पनि राम्रो शिक्षा आर्जन गर्न सकोस् भनेर पनि अभिभावक बालशिक्षामा लालायित बनेका हुन् ।


-सरकारी र निजी क्षेत्रको इसिडीको अवस्थालाई यहाँले कसरी नियालिरहनुभएको छ ?


:सरकारी क्षेत्रबाट सञ्चालनमा आएका बालविकास केन्द्रमा काम गर्ने सहयोगीको मनोबल खस्केको जस्तो देखिन्छ । शैक्षिक योग्यता धैरै भएपनि तल्लो कक्षामा मात्र पढाईरहनु परेको भनेर हिनताबोध भएजस्तो देखिन्छ । माथिल्लो कक्षामा पढाउनेको तुलनामा पारिश्रमिक पनि कम छ । फेरी बालमनोविज्ञान बुझेर भन्दापनि अरुकामा खटेर बचेको समयमा खटाउने गरेको पाइएको छ । अब योग्यता पुगेकालाई माथिल्लो कक्षामा पनि पढाउन दिने र माथिल्लो कक्षामा पढाउनेलाई तल पनि पढाउन दिन सकियो भने बालविकासमा पढाउनेको पनि मनोबल बढ्ने र माथि पढाउनेलेपनि सम्मान गर्ने हुँदा त्यसको सकरात्मक फाइदा नै देखिन्छ । निजी क्षेत्रबाट संञ्चालनमा आएका संस्थाहरुले पनि दुरदर्शिता देखाउन सकिरहेका छैनन् । किताबका भारी नै बोकाईरहेका छन् ।

-प्रारम्भिक बालबिकास शिक्षामा बालबालिका जान थालेपछि तिनको अभिभावकसँको आत्मीयता र सम्बन्ध कस्तो हुन्छ ?


:यहाँले एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । दिउँसो बालबालिका बालविकासमा जान्छन् । बेलुका गलेका हुन्छन्, वा गृहकार्यमा व्यस्त हुन्छन् । बाबुआमा पनि दिनभर काममा व्यस्त हुने भएकाले कमै भेट हुन्छ । यसबाट आफ्ना सन्तानसँगको आत्मीयता घटेको मान्न सकिन्छ । यस्तो हुँदा बालबालिका आफ्ना साथीहरुसँग बढी नजिकिएको वा रमाउने गरेको देखिन्छ ।


-बाल विकास शिक्षाको कानुनी जटिलता कस्तो छ ?


;मैले आजसम्म अध्ययन गरेर हेर्दा खासै कानुनी जटिलता देख्दिनँ । बालमनोविज्ञान बुझ्न नसकी जर्बजस्त घोकाउने प्रवृति चाहिँ हामी अभिभावक तथा शिक्षक सहजकर्ताको हो । कति क्षेत्रफलमा स्थापना गर्नुपर्ने, कति विद्यार्थी राख्नुपर्ने, कति वर्षदेखि कति वर्षसम्मकालाई राख्नेजस्ता कुराहरु स्पष्ट उल्लेख छन् । संचालनका क्रममा अनुमति दिने तर न्यूनतम मापदण्ड पुगेनपुगेको अनुगमन सरकारबाट हुन सकिरहेको छैन ।


-प्रयोगात्मक सिकाईको पक्ष कस्तो छ ?


:बालबालिकाको अवधारणा देख्न र सुन्न पाउनुपर्छ । आफैँ जानेर सिक्नुपर्ने हुन्छ । आम अभिभावकमा बालबालिकालाई धुलोमा, हिलोमा जान नदिने प्रवृत्ति देखिन्छ । यो उचित होइन । उनीहरुलाई सट्टामा धूलो, हिलोबाट बच्ने उपाय सिकाउनुपर्छ र असरका बारेमा बताउनुपर्छ । डर देखाउने प्रवृत्ति उचित होइन । सानैदेखि प्रविधि सम्पन्न शिक्षा दिने नाममा संस्कृति र हाम्रो आफ्नै मौलिक परम्परालाई बालबालिकाले बिर्सन थालेका छन् । कम्प्युटर ,मोबाइल, इन्टरनेट चलाउन जानेपनि पुराना कुरा बिर्सन थालेका छन् । प्रविधिलाई प्रयोग गर्न छाड्दा बालबालिका पछि पर्छन् । अर्कोतर्फ हाम्रा संस्कृतिका कूरा प्रविधिमा समावेश नहुँदा झन् पछि पर्छन् भन्ने कुरा आत्मसाथ गरिनुपर्छ । गाईको दूध देखेका वा खाएका बालबालिकाले कहाँबाट दूध आउँछ र कसरी उत्पादन हुन्छ जान्नुप¥यो । हाम्रा मौलिक सामाग्रीहरु कसरी तयार हुन्छन् भनेर तयार पारिएका ज्ञानमूलक सामाग्रीको अभाव देखिन्छ । त्यस्ता सामाग्रीको उत्पादनमा पनि ध्यान पुगेको छैन । साँघूरो कोठामा बालबालिका पढिरहेका देखिन्छन् । परम्परागत सामग्री पनि राखेर ठूलो ठाउँमा सिकाउने व्यवस्था देखिँदैन ।


-अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?


:हाम्रो समाजमा पनि अनेक अनेक खालका अभिभावक छन् । आर्थिक रुपले सम्पन्न र विपन्नले आफ्ना बालबच्चालाई समय दिन सकिरहेका छैनन् । मध्ययम वर्गका अभिभावकको चासो कमै छ । तसर्थ निजी तथा सरकारद्धारा संचालित बालविकासमा पढाउँदा त्यहाँको माहौल बुझ्ने तथा चासो राखिरहने गर्नुपर्छ ।  प्रस्तुती: दिपेश गर्तौला