अस्थायी शिक्षकलाई एक व्यक्ति एक पदमा स्थायी : उपाध्यक्ष ढकाल

अस्थायी शिक्षकलाई एक व्यक्ति एक पदमा स्थायी : उपाध्यक्ष ढकाल

शिक्षा ऐन नवौँ संशोधन संसदमा विचाराधीन छ । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले संसद्मा पेस गर्नुभएको विधेयक अस्थायी शिक्षकहरुसँगको सहमतिका आधारमा छिटो पारित गराउन राजनीति दलबीच छलफल जारी छ । विधेयकका पक्ष र विपक्षमा मतहरु व्यक्त भइरहेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले भने छोटो बाटोबाटै भएपनि असोज ३ गते विधेयक पारित गराउन दबाब दिइरहेको छ । यसबारे समितिका केन्द्रीय उपाध्यक्ष ज्योतिनारायण ढकालसँग ईनेपाली खबरका लागि दिपेश गर्तौलाले गरेको कुराकानी :
अस्थायी शिक्षक संघर्ष समिति अहिले के गरिरहेको छ ?
हामी शिक्षा ऐनको नवौं संशोधन पर्खिरहेका छौँ । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले २०६७ माघ ९ गतेसम्म अस्थायी अवधिमा काम गरेकालाई १०० प्रतिशत र माघ ९ गतेपछि २०७३ असार १५ गतेसम्म करार अवधिमा काम गरेका शिक्षकलाई ६० प्रतिशत आन्तरिक प्रतिष्पर्धा गर्ने प्रस्तावसहितको विधेयक पेश गनुभएको छ । यो विभेदयुक्त छ । हामीले २०६७ माघ ९ सम्मका अस्थायी शिक्षकलाई एक व्यक्ति एक पदको व्यवस्था गरिनुपर्छ भनेका छौँ । करार अवधिमा काम गरेका शिक्षकलाई भने सकेसम्म १०० प्रतिशत सम्भव नभए ८० प्रतिशत आन्तरिक प्रतिष्पर्धा गराउनुपर्छ ।
करारमा काम गरिरहेका बाँकी ८० प्रतिशत शिक्षकको व्यवस्थापन कसरी हुन्छ ?
अब शिक्षक सेवा आयोगले गराउने खुल्ला प्रतिष्पर्धामा उमेरको हद नलाग्ने गरी करार शिक्षकका लागि विज्ञापन खुलाउने सुनिश्चित गरिनुपर्छ । उहाँहरुका लागि सेवा सुविधा सुनिश्चित गरिनुपर्छ ।
अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्दा खुल्ला प्रतिष्पर्धामार्फत शिक्षक बन्ने तयारी गरिरहेकाहरुमाथि अन्याय हुँदैन ?
खुल्ला प्रतिष्पर्धामार्फत आउन चाहनेले हाम्रो लागि शिक्षक हुने अवसर जुरेन भनेर गुनासो गरिरहेको मैले पनि सुनेको छु । तर मलाई यो लाग्दैन कि आफैँलाई यत्रो वर्ष पढाएका गुरुहरुले संघर्षबाट प्राप्त गर्नुभएको उपलब्धिमाथि उहाँहरुले अवरोध गर्नुहुन्छ । फेरी नयाँ आउन चाहनेहरुले बुझ्नुपर्ने कुरा के छ भने २६ हजार १ सय एकाउन्न अस्थायी शिक्षकमध्ये ११ हजार जति शिक्षकले त गोल्डेनहेण्डसेकमार्फत अवकास लिने इच्छा राखिसक्नुभएको छ । त्यसमध्ये पनि हाल सम्मको अवस्थालाई हेर्दा आन्तरिक प्रतिष्पर्धामा भाग लिन पाउँदा १ हजार जतिले मात्र लिनुहुन्छ होला । त्यसो हुँदा पनि १० हजार जति खालि ठाउँमा नयाँ जोस र जाँगरले भरिएकाले प्रतिष्पर्धा गर्नसक्ने सम्भावना जिवितै छ ।