बाल दिवस : मजदुरी गरेर पढ्दै चिकित्सक बन्ने सोनीको धोको

बाल दिवस : मजदुरी गरेर पढ्दै चिकित्सक बन्ने सोनीको धोको


दिपेश गर्तौला-
काठमाडौँ, २९ भदौ । चिकित्सक बन्ने सपना बोकेकी सोनी लामाको भविष्य के होला ? उनी आफैँ अन्योलमा छिन् ।
सोनी भक्तपुरमा जन्मिएकी हुन् । सानो छँदा उनका बाबाआमा सँगै थिए र दूबै मजदुरी गर्थे । अहिले आमा बाबासँग छुट्टिएकी छिन् ।
दुई कक्षासम्म सोनीले राम्रैसँग पढ्न पाइन् । विगत सम्झँदै सोनीले भनिन् “म भन्दा तीन वर्ष कान्छो भाई काखमा राखेर मलाई र दिदीलाई बाबाआमाले जतिसक्दो माया दिएर पढ्न विद्यालय पठाउनु भएकै थियो । घरमा पनि राम्रै ख्याल र हेरचाह गर्नुहुन्थ्यो । तर मेरो पढाई धेरै माथि जान सकेन ।”
दुई कक्षा पढिसकेपछिको विगत स्मरण गर्दा उनी निक्कै भावुक भइन् । त्यसबेला ऊनी पाँच वर्षकी थिइन् । दिदी आठ वर्ष र भाई दुई वर्षको मात्रै थिए । आमाले बुबालाई छाडेर अर्कैसँग हिँडिन् । बाबुको एक्लो कमाई । दिदी र भाईलाई खर्च बढ्न थाल्यो । बाबुले काम नगरी हातमूख नजोडिने । काम गर्न जाँदा ऊनीहरुमा अभिभावकको माया खड्किन थाल्यो । “हाम्रै खुशीको लागि बाबाले दिनरात नभनी काम गरेको त थाहा थियो । तर बच्चा बेलामा बाबाको न्यानो काखमा लुटपुटिने औधी रहर पलाएर आउँदो रैछ ।” गलेर हैरान भएर आएको बाबुसँग सँधै त्यो सम्भव थिएन । सबै छोराछोरीलाई समय दिन नसकेपछि सोनीका बाबु केशरसिंहले ससुराली निजगढ लगेर राखिदिए । उनले मामाघरमा बसेर उनले चार कक्षा सम्म पढिन् । मामाघरमा पनि लामो समय सम्म बसेर पढ्ने वातावरण बनेन । हजूरबा र हजूरआमा पनि छुट्टिए । पढाई बिग्रिएको भन्दै छोरीलाई आफैँसँग राखेर पढाउन केशरसिंहले कीर्तिपुर ल्याए । “किर्तिपुरको जनसेवामा पढाई कमजोर भन्दै चार कक्षाको परीक्षा लेख्न नपाएको मलाई फेरी तीन कक्षामै राखिदिनुभयो ।” सोनीले जनसेवामा तीन कक्षा पुरा पढ्न नपाइकन आमाले फकाएर तीन कक्षामै भर्ना गर्न भक्तपुरको सानोठिमी लगिन् । तीन कक्षामा तीन पटक पढ्नु उनको बाध्यता बन्यो ।
मुलुकका तामझामका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा विद्यालयमा पढ्नबाट वञ्चित सोनीजस्ता धेरै बालबालिका बारे सरकारको ध्यान गएको छैन ।
सानोठिमीमा तीन कक्षामा पढ्दापढ्दै आमाको व्यवहारमा परिवर्तन आउन थाल्यो । उनका सौतेनी बाले पनि गालि गर्न थाले ।
“सानोसानो कुरामा गाली गर्नुहुन्थ्यो । बरु कुटेको एकछिन दुख्छ । गाली खाएको पीडाले अझै दुखिरहन्छ ।“ उनले भनिन् ।
आमाको र सौतेलो बाबुको टोकेसो सहन नसकी मैतीदेवीमा एक दम्पतीका सात महिनाको बच्चा स्याहार गरेर डेढ वर्ष वसिन् ।
सोनीले मलिन हुँदै भनिन् “आफू परिवारको साथमा हाँसी खुशी भएको भए मैले बाबाआमाको स्याहार र ममता पाउँथे । सट्टामा सानैमाअरू बच्चाको स्याहार गर्नुपर्यो ।” फेरी बाबासँगै बसेर ऊनी गोरखनाथ स्कुलमा चार कक्षामा भर्ना भइन् र पहीलो परीक्षामा तेस्रो नतिजा हात पारिन् । चार कक्षामा पूरा नपढ्दै पुनः मामाघरमा गएर अहिले श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा छ कक्षामा भर्ना भएर पढ्दैछिन् । मामाघरमा समेत काम धेरै गर्नु परेर पर्याप्त पढ्ने समय निकाल्न सकिरहेकी छैनन् । हालसम्म कुनै प्रकारका छात्रवृत्ति नपाएको बताउने सोनीले दुख झेल्दै पढ्न सकेमा डाक्टर बन्ने लक्ष्य रहेको बताइन् । “नृत्यमा धेरै रुचि छ विद्यालयमा भएको प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरिसकेकी छु । पैसा अभावले सिक्न सकेको छुइन ।” उनले भनिन्, “डाक्टर पढ्न कहाँबाट पैसा ल्याउनु र ?”
सोनीले बाल दिवसबारे सुनेकी छिन् तर अहिलेसम्म मनाएको उनलाई थाहा छैन ।