बच्चाको अवस्था थाहा पाउने तरिका ..

बच्चाको अवस्था थाहा पाउने तरिका ..
बच्चाको भाषा आमा वा बुबाले उसको हाउभाउबाट बुझ्नुपर्ने हुन्छ । बोल्न नसक्ने साना बच्चा आफ्नो कुरा हाउभाउ शारीरिक प्रतिक्रियाबाट व्यक्त गर्न खोज्छन् । उनीहरु बिरामी भएको, खुशी भएको, दुःखी भएको, पिडा भएको सबै कुरा अनुहार तथा शारीरिक हाउभाउबाट बुझ्नुपर्ने हुन्छ । बच्चाले बोलेर वा हात चलाएर व्यक्त गर्न नसकेको कुरा पनि बुझ्नुपर्छ र त्यहिअनुसार व्यवहार गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा बालरोग बिशेषज्ञ डा. विष्णुरथ गिरीले लेख्नुभएको छ । सानो बच्चा बिरामी भएको थाहा पाउन गाह्रो हुन्छ । बच्चा बोल्ने नहुन्जेल बच्चालाई के भईरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्छ । बच्चाको हाउभाउ, खाना, शारीरिक अवस्था हेरेर बच्चालाई कस्तो छ भन्ने पत्ता लगाउन सकिन्छ । सामान्य अवस्थामा बच्चाले फुर्तिसाथ खेलेन भने स्वास्थ्यमा केहि समस्या भएको हुन सक्छ । पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रियामा परिवर्तन भयो भने बच्चा बिरामी छ कि भन्ने शंका गर्न सकिन्छ । बच्चा अरु समयभन्दा धेरै रोयो, रोएको बच्चा फुलाउन सकिएन भने बच्चा बिरामी हुन सक्छ । त्यस्तै बच्चा रोएन अथवा केहि नगरी आनन्दले सुतिरहन्छ भने बच्चाको स्वास्थ्यमा गडबडी भएको हुन सक्छ । यसले पछि ठूलो समस्या निम्तिन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ । बच्चाको नाकको पोरा फुल्यो भने बच्चा बिरामी हुन सक्छ । बच्चाको शरीर निलो हुनु, बच्चा एक्कासी बेहोस हुनु, लगातार बान्ता गर्नु, बान्ता भएर पिसाब कम जानु बच्चा गम्भीर बिरामी हुनुका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल लानुपर्छ । बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ । बच्चालाई सास फेर्न अप्ठ्यारो भयो, लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।