शान्त र सफा वातावरणको त्रैविद्य शिक्षा सदन

शान्त र सफा वातावरणको त्रैविद्य शिक्षा सदन

विद्यालय परिसरभित्र खेलिरहेका सानासाना विद्यार्थीले कुनै गल्ती गरे वा भनेको मानेनन् भने के गरिन्छ ? हामीमध्ये धेरैले देखेको, सुनेको वा भोगेको आधारमा भन्ने हो गाली गरेर सम्झाइन्छ या पिटिन्छ । त्यसमाथि अझ विद्यार्थीलाई सम्झाउँदा वा पिट्दा रुखो स्वरमा प्रायजसो तँ वा तिमी भनेर सम्बोधन गरेको पाइन्छ । तर काठमाडौँको शंखमूलमा रहेको त्रैविद्य शिक्षा सदनमा भने फरक दृष्य देख्न सकिन्छ । प्रारम्भिक शिशु कक्षादेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा भनेको नमाने, अटेर गरे विद्यार्थीलाई मायालु स्वरमा तँपाई यस्तो गर्नूहोस्, खेल्नुहोस्, पढ्नुहोस्् भनेर अह्राउने, सम्झाउने तथा सिकाउने गरिएको दृष्यले सबैलाई आर्कषित गर्छ । प्रधानाध्यापक संगीता श्रेष्ठ कायस्थले सानासाना बालबालिकामा जिद्दी स्वभाव हुने भएकाले उनीहरुलाई झर्केर पिटेर सही मार्गमा हिँडाउन नसकिने भएकाले मातृस्नेह दिएर पढाइरहेको बताउनुभयो । “बालबालिकाको रुची र चाहानालाई बुझेर सँगै बसेर मनोबल बढाउँदै पढाउँदा सकरात्मक प्रभाव परेको छ ।” श्रेष्ठले भन्नुभयो । विसं २०६९ सालमा स्थापना भएको विद्यालयमा एउटा कक्षामा १५ जना मात्रै विद्यार्थी भर्ना लिने गरिएको छ । प्लेग्रुपमा विद्यार्थीले ३÷४ महिनामात्रै पढ्ने र माथिल्लो कक्षामा भर्ना गर्ने गरेका छन् । विद्यालय स्थापनाताका समयमा विद्यालय आसपासको क्षेत्र दुर्गन्धित र प्रदूषित रहेको स्मरण गर्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालय वरपरको वातावरण स्वच्छ र मनोरम भएमात्रै बालबालिको ध्यान एकत्रित गर्न र पढ्ने, सिक्ने र खेल्ने माहौल बनाउन प्रेरित गर्ने भएकाले अथक मेहेनत र प्रयासबाट सफा राखिएको बताउनुभयो । विद्यालयको मात्रै नभई समग्र क्षेत्रको वातावरण हराभरा राख्नुपर्छ भन्ने सिकाउन अन्यत्र पनि लगेर सरसफाई अभियानमा संलग्न गराउने गरेको छ । विद्यालयमा विगत दुईवर्षदेखि आत्मनिर्भर सिपको अभिवृद्धि गराएर आत्मसुरक्षा गर्ने तालीम प्रशिक्षक अर्जुन श्रेष्ठले पाँचवर्षमाथिका बालबालिकालाई दिइरहनुभएको छ । जापानिज मार्सल आर्ट (आईकिडो)को नामले परिचत उक्त खेलले बालबालिकालाई शान्त बनाएर नकरात्मक सोच हटाई गलत क्रियाकलापमा संलग्न नहुन सिकाइरहको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रशिक्षक श्रेष्ठले “शारीरिक व्यायम र मानसिक दूबै समावेश यो खेलले केही गर्न सक्दिन भनेर हतोत्सायी भएका बालबालिकाले समेत मनोबल बढाएर आत्मविश्वासका साथ पढाई तथा खेलकुदमा रुचि देखाइरहेका छन् ।” भन्नुभयो । त्रैविद्यले हरेक अतिरिक्त क्रियाकलाप र शिक्षामा शान्तिलाई ध्यानमा राखेर बनाउने गर्छ । विद्यालयमा विभिन्न खालका खेलकुदका साम्रगी राखिएका छन् । जसबाट बालबालिकाले आफनो रुचिअनुसार खेलिरहन पाएका छन् । विद्यालयमा त्यतिमात्रै नभई कुटुम्ब ब्याण्डका राजु मर्हजनले संगीतको प्रशिक्षण पनि दिइरहनुभएको छ । संञ्चारकर्मी सुनिता डंगोलले यस विद्यालयका विद्यार्थीलाई रेडियोमा लैजाँदा स्पष्ट आत्मविश्वासका साथ बोल्ने गरेको देख्दा मन रोमाञ्चित हुने अनुभव सुनाउनुभयो । विद्यार्थीलाई सफा र पौष्टिक खानेकुरा खान पाउन् भनेर क्यान्टिनमै प्राकृतिक रुपमा तयार पारिएका मरमसलाको प्रयोग गरेर पिरोरहित साथै चिल्लो कम भएका खाना र खाजा तयार गर्ने गरिएको छ । भूकम्पपछि अन्तरविद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप आदानप्रदान समेत गरिरहेको छ । अन्य विद्यालयबाट राम्रा पक्षको सिको आफूले गर्ने र राम्रो कुराको सिको अरुले गरुन् भन्ने अभिप्रायले र विद्यार्थीलाई समान हौँ भन्ने अनूभूति गराउन बानेश्वर, बुद्धनगर आसपासका विद्यार्थीलाई बेलामौकामा सघैँ खेल्ने वातावरण मिलाइनु पनि सकरात्मक पक्ष रहेको संञ्चारकर्मी डंगोल बताउनुहुन्छ । प्रधानाध्यापक श्रेष्ठ स्थापनाकालमै ब्रिटिस काउन्सिलले प्रदान गर्ने एक्सन अवार्ड, सन् २०१५ मा इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको र अभिभावकले सकरात्मक प्रतिक्रिया दिएकोले प्रगतिपथमा लम्किन सकेको र मनोबल बढेको बताउनुहुन्छ । उहाँले आफ्नो विद्यालयका विद्यार्थीका लागि मात्र नभई कारागारमा रहेका बालकबालिकाका लागि काम गर्दै आउनुभएकी साथी श्रम प्रशिक्षण केन्द्रकी सृजना नकर्मीसँग मिलेर उनीहरुका लागि तालीम तथा अन्य सहयोग गर्ने उद्देश्य राख्नुभएको छ । दोषी भएर यात बिना दोषमा कैदी जीवन बिताइरहेका बालबालिकालाई कसरी आगामी दिनमा प्रशिक्षित गरेर स्वरोजगार बनाउन सकिन्छ भनेर छलफल र सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यस शिक्षा सदनको पार्टनरसिपमा थानकोटमा त्रिसा, यूकेमा ग्रेण्डस्टण्ड तथा चितवनमा बखिना बालबाटिका संञ्चालनमा छन् । थानकोटको त्रिसामा नर्सरीमा मात्रै ४५ विद्यार्थी छन् । त्रैविद्यले शान्त वातावरणमा पढाई हुने नमुना प्राथमिक विद्यालयको रुपमा अलग्गै पहिचान बनाउने यात्रालाई राजी राख्ने जनाएको छ । प्रस्तुति : दिपेश गर्ताैला