'चना खाने होइन उर्माने शिक्षा दिनुपर्छ'

 'चना खाने होइन उर्माने शिक्षा दिनुपर्छ'

मातृका निरौला,
प्रिन्सिपल, इन्टेनसिभ इन्टरनेसनल एकेडेमी, सोल्टीमोड

यो स्कुल आज भन्दा तीन दसक अघि स्थापना भएको हो । म प्रिन्सिपल भएको चाँही करिव २० पुग्यो । यसबीचमा मैले धेरै अनुभव लिएको छु । धेरै सिकेको छु ।
शिक्षण पेसाकै क्रममा मैले बच्चाहरुको अभिरुची, बालविकास र सिकाइका बारेमा अनुभव हासिल गरेको छु । मैले विभिन्न सेमिनार, तालीममा पनि भाग लिएको छु ।
शिक्षण पेशामा आउने मेरो रहर वा संयोग । पहिला म शिक्षक नै थिएँ । मेरो बाबा पनि शिक्षक हुनुहुन्थ्यो । मैले एसएलसीपछि उहाँले पढाउने स्कुलमै केही समय स्वयंसेवीरुपमा काम गरेँ । त्यस स्कुलका बच्चाहरु पढाइमा कमजोर थिए । विशेषगरी अंग्रेजीमा धेरै कमजोर भएकोले कसरी अंग्रेजीमा राम्रो शिक्षा दिन सकिन्छ भन्ने हिसाबले शिक्षक नै भएर मैले त्यहाँ केही वर्ष काम गरेँ । त्यसपछि साथीहरुसंग मिलेर सहकारीमा लगानी गरेर अगाडि बढ्यौँ ।
अहिले हाम्रो यो शिक्षालयमा जम्मा १२० जना कर्मचारी, तीन सय विद्यार्थी छन् ।
यो स्कुलको उद्देश्य सही शिक्षा दिने हो र सरकारले तोकेको पाठ्यक्रमको दायरामा रहेर बच्चाहरुलाई सिकाउने हो । ‘शिक्षाका साथै सबै सस्कार’ भन्ने हाम्रो नारा पनि छ । बच्चाहरुलाई पछिल्लो समयमा सूचना प्रविधिमैत्री बनाउन पनि हामी लागेका छौँ । उनीहरुलाई त्यसमा अभिरुचि बढेको देखिन्छ । बाहिरका कुराले प्रभाव पार्दै आएको छ । पढ्नुपर्छ भन्ने मानसिकता घट्दै गएको छ । त्यसैले ‘शिक्षाका साथै सबै सस्कार’ को मूल नारालाई हामीले आत्मसाथ गर्दै अगाडि बढेका छौँ । जस्तो, बच्चाहरुको घरमा कोही पाहुना आउँदा वा उनीहरु आफन्तकोमा जाँदा बच्चाले फोन चलाइरहेको छ भने उसको कम्युनिकेसन हुँदैन, ऊ आफ्नै तालमा व्यस्त हुन्छ र नराम्रो बानी पनि देखाउँछ । यो कुरा हामीले नर्सरीदेखि कक्षा १० सम्मको अभिभावकलाई भन्छौँ । विद्यालयमा टेन्टको व्यवस्था गरेर अभिभावक दिवस कार्यक्रम जस्तै गरी परामर्श चलाउँदै आएका छौं । पढेर मात्र होइन व्यवारिक पनि हुनुपर्छ भन्ने बोध गराउँछौ । हामीले चना खाने होइन उर्माने शिक्षा दिनुपर्छ भन्ने सन्देश अभिभावकलाई दिएका छौँ ।
हाम्रो विद्यालयमा पुस्तकालय, प्रयोगशाला, कम्प्युुटर ल्याबहरु छन् । यी बाहेक हामीले इनडोर र आउटडोर खेल पनि राखेका छौं । हाम्रो स्कुलबाट एउटा टोली मलेसियामा गएर मार्सलआट्समा पनि जितेर आएको थियो । अब दशैँ तिहारपछि हाम्रो टिमलाई युरोप पठाउँदैछौं
पढाइसँगै हामीले खेलकुद पनि लैजानुपर्छ । खेलकुदले शारीरिक विकास हुन्छ भने पढाइले मानसिक विकास गर्छ ।
हाम्रो विद्यालय क्रमिक प्रगतिमा छ । पहिला हामी भीमसेनस्थानमा थियौँ । अहिले आफ्नै भवनका साथ कालिमाटी (सोल्टीमोड) मा फराकिलो ठाउँमा छौँ । पहिला कक्षा कोठा पनि सानो थियो र ठाउँ पनि राम्रो थिएन । अहिले हाम्रो एउटा कक्षामा ३५ जना जति विद्यार्थी अटाउने कक्षाकोठाको व्यवस्थापनको साथै राम्रो वातावरण पनि रहेको छ । हाम्रो परीक्षाको नतिजा धेरै राम्रो आएको छ ।
भविष्यमा हाम्रो सोच टेक्नोलोजीलाई पनि आत्मसाथ गर्दै लाने भन्ने छ । गत सालदेखि नै कम्प्युुटरको पढाइ इडियुडकमसँग सहकार्य गरी अनलाइन परीक्षा लिँदै आएका छौँ । हाम्रो प्रिस्कुल पनि यहीँ भएकोले हामी पुरै मन्टेश्वरी अवस्थामा त जान सकेका छैनौँ तर पनि सेमिमन्टेश्वरी भन्दा उपयुक्त होला । सेमिमन्टेश्वरी हामीले जारी सिस्टम जस्तै बच्चाहरुको प्रत्येक रेकर्ड राख्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, अनुशासनका लागि अभिभावकसँग केही प्रश्न पठाएर हामीले एक अर्काेमा कनेक्सन गरिरहेका छौँ ।
हुन त राजधानीमा धेरै विद्यालय छन् । अभिभावकले यो स्कुल नै रोज्नुका केही कारण छन् । कुनै समयमा हाम्रो स्कुलमा भर्ना गर्न गाह्रो थियो, ठाउँ अभाव थियो । अहिले हामी फरक र सुविधानसम्पन्न स्थापनमा छौँ । हाम्रो पुरानो क्षेत्रबाट ७५ प्रतिशत बच्चाहरु पढ्नलाई यतै आउँछन् ।
प्रस्तुति : कविता दुलाल र विनिता केसी