बच्चामा पिङ खेल्दाको रमाइलो र उत्सुकता

 बच्चामा पिङ खेल्दाको रमाइलो र उत्सुकता

दिपेश गर्ताैला–
इलाम, २१ असोज । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० स्थित रामेखोलामा स्थानीयले लगाएको बाँसको पिङ्मा झापाबाट दशैँमा टीका थाप्न आएकी रम्यता राई मच्चिएर खेल्दै थिइन् ।
“यस्तो ठूलो पिङमा खेल्दा धेरै मज्जा आउँदो रहेछ तर धेरै मच्चाउँदा रिङ्गटा लाग्ने रहेछ ।” उनले भनिन्, “यस्तो पिङ मैले पहिलो पटक खेलेको हुँ ।”
रम्यताको मात्र होइन ललितपुरको लुभूको एक मन्टेश्वरी विद्यालयमा अध्यनरत दिव्या नेपालले भने टेलिभिजनमा लिङ्गे पिङ देखेपनि प्रत्यक्ष पिङ देखेकी थिइनन् ।
तोते बोलीमा दिव्याले भनिन्, “मेरो विद्यालयमा सानो फलामको पिड् छ । साथीसँग पालो गरेर खेल्छु । बाबा र मामुले काखमा राखेर त्यो ठूलो पिड.मा खेलाईदिनुहोस् जस्तो लाग्छ तर ठूलो पिड् भएको ठाउँनै देखेको छैन ।”
चाडपर्व नजिकिएसँगै गाउँघरका कुनाकुनामा माल बाँस र भालु बाँसको अग्लो लिङ्गे पिङ भने देखिन छोडेका छन् । केही वर्ष अगाडिसम्म गाउँमा पिङ नबनुन्जेलसम्म दशैँ तिहार आएको जस्तो नलाग्ने इलामका श्यामकर्ण लालदास गिरी बताउँछन् ।
आजभोलिको चाडपर्वमा पिङ लगाउने जोसिला युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकोले बालबालिकाको र बुढापाकाले पिङ निर्माण गर्नुनपरेकोले पिङहरु धेरै देख्न नपाइएको उनीह बताउँछन् । “गहिरो खाल्डो खनेर ठूलठूला माल बाँस वा भालु बाँस गाडेर चारैतिरको बाँसको टुप्पो जोडेर बलियो जुवा परालमाथि राखेर पिङ बनाउने काम कम चुनौतीपूर्ण छैन ।” गिरीले थपे “फराकिलो जमिन चाहिन्छ गाडेको बाँस कोल्टे भयोभने वा एक इन्च पनि तलमाथि भयो भने खेल्दा ठोक्किने र डोरी बटारिने तथा दुर्घटना हुने सम्भावना हुन्छ ।”
पिङ बनाउन उपर्युक्त हल्लुण (भैँसीको छालालाई सुकाएर बनाएको दह्रो डोरी जसलाई जोत्न पनि प्रयोग गरिन्छ ।) पाइन छोडेकाले बोराको बनाएर वा डोरीकै लगाउँदा चुडिँने खतरा धेरै भएकोले बलियो डोरीको अभावमा पिङ कम बनिन थालेको विगत छ वर्षअघिदेखि पिङ हाल्दै आएका र हाल नयाँ पुस्तालाई सुझाव दिबिरबहादुर राईको अनुभव छ । बालबालिकाका लागि रोटे पिङ र साना फलामका पिङमा खेलाउन थालिएकोले ठूला पिङका बारेमा उत्सुकता जागेको उनको भनाई छ ।