सानोमा ज्ञानी, पछि चकचके

सानोमा ज्ञानी, पछि चकचके

१. बालबालिकाहरुलाई अनुशासनमा राख्न के गर्नुपर्छ ?
बालबालिकाहरुलाई तर्साएर, धम्काएर काम गराउनु मुर्खता हुन्छ । गाली गरेर, पिटेर बालबालिकाहरुलाई सही दिशामा ल्याउन सकिँदैन । उनीहरुप्रति माया प्रेम दर्साउनुपर्छ । माया र प्रेमले उनीहरुको मन जित्न सकिन्छ भने उनीहरु अनुशासनमा पनि बस्छन् ।

२. बालबालिकाहरुलाई पढाइमा कसरी एकाग्र गराउने ?

सर्वप्रथम बालबालिकाहरुको भावना बुझ्नुपर्छ । पाठसँग सम्बन्धित रोचक प्रसङ्ग सुनाएर पढाए उनीहरु एकाग्र हुन्छन् ।

३.प्राय बालबालिका घरमा धेरै चकचक गर्छन् तर बाहिर चुपचुाप रहन्छन् । यस्तो बानी सुधार्न के गर्नुपर्ला ?
घरको बाघ वनको स्याल भन्ने उखानै छ । जो पनि आफ्नो घरपरिवारसँग बढी नजिक अनुभव गर्छन् भने अन्यत्र बोल्न धक मान्छन् । त्यसैले बालबालिकाहरुलाई घरमा मात्र होइन अन्यत्र पनि घुलमिल गराउनुपर्छ । बालबालिकाहरु बाहिरभन्दा घरमा चञ्चल हुनु मानवीय स्वभाव नै हो ।

४. सानोमा ज्ञानी बालबालिका पछि झगडा गर्ने, चकचक गर्ने, भनेको नमान्ने, साह्रै दुख दिने स्वभावका हुन्छन्, यस्तो हुनुको कारण के होला ?
सानो उमेर साँच्चै नै चकचक गर्ने,रिसाउने र झगडा गर्ने उमेर हो । उनीहरु अप्ठ्यारो नै पार्ने गरी चकचक गर्छन्, सामान तोडफोड गर्छन्, अरुलाई कुट्छन् भने मात्र आत्तिनुपर्छ । यो उमेरका बालबालिकाले चकचक गर्नु, भनेको नमान्नु स्वाभाविक हो ।ज्ञानी भएर बसेका बेला माया गरे उमेर बढ्दै जादां त्यस्तो चकचके बानी कम हुंदै जान्छ ।

५.बालबालिकामा शारीरिक परिवर्तनका कारण उत्पन्न हुने चिढचिढेपन कसरी कम गर्न सकिन्छ ?
यो उमेरमा कुनै चीजको गोपनीयता आवश्यक हुनसक्छ । यो शारीरिक एवं मनोवैज्ञानिक परिवर्तनको उमेर हो । त्यसैले उनीहरु आफुले चाहेका कुराहरु आवश्यक मान्छन् । यद्यपी, चाहेका सबै चिज पुर्याउन गाह्रो हुन्छ । सकिन्छ र पुग्छ भने ती सुविधा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सकिंदैन भने सम्झाई बुझाई उनीहरुलाई खुसी बनाउनुपर्छ । उनीहरुप्रति किशोरावस्थाको मनोभावना बुझोर सोहीअनुरुप व्यवहार गर्नुपर्छ ।
६.आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?
उनीहरुको बानी व्यपहार, बोली, अनुशासन आदि हेर्ने, पढाइका विषयमा बालबालिकाले आफ्नो काम कसरी पुरा गरेका छन् बुझ्ने । साथीहरुबाट सारेका छन् वा पुस्तक हेरेर आफै बुझ्ने प्रयास गर्छन वा गाइडबाट सार्छन ख्याल गर्नुपर्छ । कक्षामा उनीहरुको आनीबानी कस्तो छ, जानकारी लिनुपर्छ ।
७. बालबालिकाहरुलाई असल बनाउन के कस्तो वातावरण सिर्जना गर्नुपर्छ ?
बालबालिकाको आवश्यकता समयमा पुरा गरिदिने, के सही र के गलत हो प्रेमपूर्ण वातावरणमा बुझाउनुपर्छ । बालबालिकाले मागे भन्दैमा सबै माग पुरा गरिदिनु हुँदैन ।
साभार : नारी मासिक, सिर्जना दुवाल श्रेष्ठ
९शिक्षिका लक्ष्मी मानन्धरसगको कुराकानी)