विद्यालयस्तरीय कविता प्रतियोगितामा

विद्यालयस्तरीय कविता प्रतियोगितामा

काठमाडौँ, २८ असोज । माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी कविता प्रतियोगितामा धनकुटा पाख्रीबासस्थित राम माविका कुसुम रिजाल प्रथम भएका छन् ।

ब्लड डोनर्स एसोसिएसनले युवा वर्गलाई रक्तदानमा सहभागी गराउने उद्देश्यले “युवाको अभियान, रक्तदानमा योगदान” शीर्षकमा आयोजना गरिएको उक्त प्रतियोगितामा उहाँले रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी कास्कीस्थित करुणानीधि एजुकेसनल फाउण्डेसनका विक्रम परियार दोस्रो र काठमाडौँस्थित रिपुमर्दिनी सैनिक माविका आशिष पन्त तेस्रो भई क्रमशः रु २० र रु १५ हजारको नगद पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सिन्धुलीस्थित कपिलाकोट उमाविका रुपम तामाङ चौथो र झापास्थित देवी माविका अनुज्ञा रेग्मी पाँचौँ भई क्रमशः रु १० र सात हजार ५०० सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई समावेश गरिएको सो प्रतियोगितामा देशभरबाट १०९ कविता प्राप्त भएकोमा तीमध्येबाट १५ उत्कृष्ट छनोट भएका थिए । उक्त कार्यक्रममा सहभागी उत्कृष्ट बाँकी १० विद्यार्थी प्रत्येकलाई रु दुई हजार पुरस्कार प्रदान गरियो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै रक्तदानले जोखिममा परेका मानिसको उपकार गर्ने हुँदा यसकाबारे समाजमा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक मचाकाजी महर्जनले अरुको जीवन रक्षाका लागि रक्तदानको महत्व ठूलो रहेको उल्लेख गर्दै युवालाई त्यसतर्फ आकर्षण गर्ने संस्थाको नीति रहेको जानकारी दिनुभयो ।