स्थायी शिक्षक छाडेर मुख्यमन्त्रीको दाबेदारसम्म

स्थायी शिक्षक छाडेर मुख्यमन्त्रीको दाबेदारसम्म

काठमाडौँ, १६ कात्तिक । कुनै बेलाका स्थायी शिक्षक अहिले प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुनुभएको छ । शिक्षक हुँदै राजनीतिमा होमिने नेता अरु पनि छन् तर राज्यको जिम्मेवारी नपाए पनि निरन्तर टिक्ने र जनतामा झिजेर काम गर्ने चुनौती मोल्ने धेरै छैनन् ।
सानुकुमार श्रेष्ठ स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीति होमिएको तीन दसक भइसक्यो । उहाँसँगका कैयै सहयात्री मन्त्री वा पार्टीका पदाधिकारी भइसके तर श्रेष्ठ पदको भन्दा इमानको पछि कुँदिरहेकाले राज्यको जिम्मेवारीमा पछाडि परेको जस्तो देखिन्छ ।
आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ को (क) बाट (काठमाडौँ महानगरपालिकाको वडा नं. ९ र ३२) प्रदेशसभामा नेकपा (एमाले) बाट उम्मेदवार हुनुभएका श्रेष्ठलाई प्रदेश नं. ३ को भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ । पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख भएकाले पनि उहाँको दाबी मुख्यमन्त्रीमा देखिएको हो । हुन यसै प्रदेशमा सो पार्टीबाट मुख्यमन्त्रीका अर्का दाबेदार राजेन्द्र पाण्डे (धादिङ) पनि मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । दोलखाका पशुपति चौलागाईँ पनि मुख्यमन्त्रीकै आशामा प्रदेशको निर्वाचनमा होमिनुभएको छ ।
सानुकुमारको जन्म २०१६ सालमा मच्छेगाउँमा भएको हो । उहाँ क्षेत्र नं. २ को नरेफाँट (कोटेश्वर) मा बस्नुहुन्छ । अर्थशास्त्रमा स्नातक उत्तिर्ण उहाँले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं. २०३४ सालमा भूमिगत नेकपा (माले) बाट कम्युनिष्ट राजनीतिमा लाग्नुभएका उहाँ निरन्तर सोही आन्दोलनमा हुनुहुन्छ । विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक पटक जेलनेल पनि भोग्नुभएका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुशमा प्रतिक्रियावादीको निर्मम कुटाई खानुभएको थियो ।
काठमाडौँ जिल्ला विकास समितिका पूर्व सभापति सानुकुमार २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डका प्रतिस्पर्धी भएपनि आन्तरिक तालमेलका कारण त्यति प्रचारमा उत्रनुभएन र पराजय स्वीकार्नुभयो ।
श्रेष्ठले आफ्नो क्षेत्रमा एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभाता जस्ता मुद्धा उठाउनुभएको छ । यस्तै बागमतीमा झोलुङगे पुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पन उठाउनुभएको छ । प्रदेशस्तरमा उहाँले उर्जाको विकास गरेर लोडसेडिङमुक्त प्रदेशको परिकल्पना गर्नुभएको छ । कम्तीमा एक हजार मेघावट विजुली उत्पादन गरेर भारतसँगको खरिदलाई यस प्रदेशमा बन्द गराउने प्रयास गर्छुु उहाँले भन्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सुधार नभएसम्म मुलुक समृद्ध नहुने पनि बताउनुभयो । राजनीतिमा सरल र काठमाडौँ उपत्यकाका जनतामा भिजेका नेता तथा स्पष्ट बोल्ने नेता मानिने श्रेष्ठ भन्नुहुन्छ, “यो चुनावमा प्रगतिशील, वामपन्थी र राष्ट्रवादीहरु एक हुनुपर्छ, समृद्ध नेपालको सपना पूरा गर्न यो अनिवार्य छ ।”
प्रस्तुति ः प्रकाश सिलवाल