चुनावी घोषणापत्रमा दोहोरिएको आश्वासन

चुनावी घोषणापत्रमा दोहोरिएको आश्वासन

तिलक घिमिरे (निर्मल)
हालै बलिउडमा रोहित सेठ्ठीद्वारा निर्देशित तथा अजय देवगणलगायत कलाकारको दह्रो प्रस्तुतिका साथ “गोलमाल अगेन” चलचित्र रिलिज भएको छ । रिलिजको एक सप्ताह नबित्तै एक सय करोड भारु उठाउन सफल भई बक्स अफिसमा आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्था छ । यसले अरु थप कमाउने श्रृंखला चलिरहेको छ । गोलमाल अगेन रिलिज भएको ठिक एक सातापछि नेपाली राजनैतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गोलमाल अगेन र म्यानेफेस्ट्रो अगेनलाई संयोग मात्र मान्न सकिएता पनि त्यसमा केही सारबस्तुले भने अवश्य सामञ्जस्यता दिलाइरहेको छ । उही पात्र, उही कलाकार, उही सोचाई, उही प्रवृत्ति, उही परिवेश, उही भूगोल, उही निर्देशक, उही निर्माता मात्र समय फरक । यसरी गोलमाल अगेन रिलिज पूर्व भारतीय चलचित्र विकास बोर्ड अन्तर्गत रहेको सेन्सरबोर्डले केही सेन्सर लगाएर फिल्म रि–इडिटिङ गरेर मात्र प्रदर्शनको अनुमति वक्स गरेको थियो । त्यसैगरी हाम्रो म्यानेफेस्ट्रो अगेनलाई पनि सेन्सर लगाउन सकिएन भने यसले कालन्तरमा कस्तो रुप धारण गर्ने अहिले भन्न सकिन्न किनकी अहिल्यै नै नेपाललाई स्वीट्जरल्याण्ड बनाईदिने भइसकेका छन् भने यस पछिका निर्वाचनमा भने अझ के कति बनाउने हुन् जुन प्रतिक्षाको विषय बनेको छ । यि र यस्तै आश्वासनात्मक घोषणा पत्र सबै राजनैतिक दलको पढेर मैले केही सोच्नै सकिन र यस अगाडि भएका निर्वाचनका पूर्व सन्ध्यााम घोषणा गरिएका चुनावी घोषणा पत्र पल्टाएर हेरे । जहाँ कुनै कुनै वाक्य कमी थिए तर प्राय सबै अहिलेको जस्तै नै आश्वासनात्मक–फलाना र ढिस्काना गरिदिनेछु भनेर लेखिएका संयुक्त र मिश्र वाक्य बाहेक अरु तात्विक भिन्नता पाउन सकिन । ति लामा वाक्य हेर्दा त्यहाँ धेरै शव्द संगालोहरु थिए । सबै दलहरुको घोषणा पत्र पढिसके पछि यो निश्कर्ष निकाल्न गाह्रो हुन्थेन कि हरेक भाषाका लिपीमा १० हजार जति काम नलाग्ने बेकारका शब्दहरु हुँदा रहेछन् र ति सबै यहि घोषणा पत्र बनाउने बेलामा चाही राम्रो सँग प्रयोग हुने रहेछ । नत्र त्यस्ता सर्बसाधारण जनताहरुले बुझ्नै गाह्रो, पु¥याउनै गाह्रो कुराहरु किन प्रयोग हुन्थ्यो र । पुजिवाद, साम्यवाद, समाजवाद, यथास्थितिवाद, संसोधनवाद, नवसंसोधनवाद, अधिनायकवाद, लम्पसारवाद, प्रतिकृयावाद, माक्र्सवाद, लेलिनवाद, स्टालिनवाद, प्रचण्डपथ, वि. पि. पथ, मदनपथ–ज.व.ज., गजेन्द्रपथ देखि यादवपथ, लेण्डुप दोर्जे देखि फिडेल क्यास्ट्रो, अक्टोवर क्रान्ती देखि लुइस तेह्रौको क्रान्ती, माक्र्सको उदय देखि स्टालिन विलय, कोपनहेगन घोषणा पत्र देखि बेइजिङ घोषणा पत्र, जेनेभा घोषणा पत्र देखि न्युयोर्क सम्मेलन । विभिन्न कन्भेन्सनका आर्टिकलहरु र सो भित्रका धाराहरु उल्लेख भएको देख्दा लाग्थ्यो नेपाली धामीले काम्दा जति सक्दो अरुले नबुझ्ने गरी भन्भनाउनु सक्यो त्यति “राजधामी कहलिएको” ठाने झै हाम्रा अधिकांश घोषणा पत्र त्यस्तै छन् । खानेपानीका लागि ४ बजे झिसमिसे मै उठी २ घण्टा उकालो ओरालो बाटोमा डोकाका गाग्री बोकी कुवा, धारामा पुग्नु पर्ने आमा दिदी बहिनीहरुलाई ति धाराको बारेमा सुन्दा छक्क पर्नु स्वभाविक नै हो । खै क,े खै क,े विदेशी मान्छेहरुको नाम हो की ठाउँको नाम उनीहरु दिग्भ्रमित हुनु स्वभाविक नै हो ।
नेपाललाई स्वीट्जरल्याण्ड बनाइदिने छौं, गाउँगाउँमा इन्टरनेट, घरघरमा बिजुली–सबैको नाममा शेयर कित्ता, वृद्धभत्ता–१० हजार, प्रादेशिक राजधानी आफ्नै गाउँमा, स्मार्ट सिटी, प्रत्येक घरका सदस्यहरुलाई रोजगारी, मेडिकल कलेज, विश्व विद्यालय, हाइड्रोपावर, एकिकृत शहर, सबै ठाउँमा मोटरबाटो पिच गराईदिने, गाउँ गाउँमा रोजगारी स्थापना, राष्ट्रको आमुल परिवर्तनको लागि हाम्रो जित अनिवार्य छ भनेर होस् वा जनताले बुझ्दै नबुझ्ने अनावश्यक शब्दलाई समास–विग्रह गरी हालै धेरै प्रिन्टिङ पे्रसमा हाम्रा राजनैतिक दलको घोषणापत्र अर्थात् म्यानेफेस्ट्रो छपाई भईसकेको छ भने त्यस किसिमका नबुझिने खालका वाक्यको अक्षरस पालना गर्ने÷गराउने कार्यमा राजनैतिक दलका झोलेझम्टे, आसेपासे, हुक्के बैठके तथा चिया चम्चेहरु विभिन्न माध्यम प्रयोग गरेर कम्मर कसेर लागि परेका छन् । जुन व्याख्या गर्न केन्द्रीय स्तरको शिर्ष नेतादेखि गाउँका पानी सदस्यहरु सम्म एकै स्वरमा मानेफेस्ट्रो वाचन गरिरहेको सुन्दा लाग्छ आजभोली हाम्रो राष्ट्रमा एकै साथ अखण्ड भागवत पुराण लागिरहेको छ । जुन पुराणमा पिछलग्गु पण्डाहरु स–स्वरवाचन गरी सर्वसाधारण जनताहरुलाई अल्मल्याउने काम गरिरहेका छन् । २०७० सालको चुनावमा घोषणा गरिएको म्यानेफेस्ट्रो र अहिलेकोमा केवल जोडिइएका शब्द र त्यसका केही वाक्यहरु तलमाथी गरी एकल वाक्यलाई विभिन्न संयोजक पदहरु थप गरी मिश्र वाक्य बनाई जति सक्दो सर्वसाधारण जनताले अन्त्यन्तै रुचाउने र चाख लाग्ने खालका शब्दहरुले श्रृंगार गरी अत्यन्तै रसिला कारुणिक श्रृंगारिक शब्दहरुद्वारा सृजित घोषणा पत्र हालै सार्वजनिक भएको छ । कसैका घोषणापत्रमा एकै वर्षमा रेल, समुन्द्रमा पानीजहाजको कुरादेखि, प्रतिव्यक्ति आय ५००० डलर पु¥याउने सम्मका कुरा उल्लेख गरिएको छ भने कत्तिकोमा प्रत्येक घरमा रोजगारी रे अनि कसैकामा सबैलाई हाइड्रो पावरको शेयर रे । कोही मातृ शिसु मृत्युदरलाई यतिबाट यतिमा झारीदिनेछु भन्दैछन् भने कोहीकोमा सरदर आयु समेत बढाईदिनेछु हामीले जितेमा भनेर उल्लेख गरिरहेका छन् । कालोपत्रे सडक, पक्की पुल, सबैका घरघरमा बिजुली बत्ति सबैका घरघरमा खानेपानी, टोलटोलमा स्वास्थ्य संस्था, गाउँगाउँमा विद्यालय, जिल्ला जिल्लामा विश्वविद्यालय, मेडिकल कलेज, बैंक, अस्पताल, विमानास्थल, स्मार्ट सिटी बनाउने र जनताहरुलाई घरघरमै रोजगार दिने रे । अलि पर गाउँमा पनि होइन घर घर मै रे ।
अनेक मिठा शब्दहरुको प्रयोग गरी बनाईएको घोषणा पत्रलाई सुक्ष्म एनालाइसिस् गर्ने हो भने हामी यो पाउछौं कि, यस भन्दा अगाडिको निर्वाचनमा पनि यहि वाक्य घोषणा गर्ने राजनीतिक दलहरु पनि यिनै हुन् । पात्र पनि यिनै हुन, जितेका पनि यिनिहरुले नै थिए । शासन गरेका पनि यिनिहरुले नै थिए भने के कारणले आफ्ना बाचा पुरा गर्न सकेनन् त ? के मुख देखाएर फेरी घरघरमा भोट माग्दै हिडिरहेका हुन् त ? के ले छेक्यो त उनीहरुलाई यत्तिका वर्ष सम्म ? डाडुपन्यु त उनीहरुसंगै थियो त आखिर के कारणले पुरा गर्न सकेनन् त ति बाचा ? अनि उही मान्छेलाई आफ्नो अमूल्य मत दिई आफ्नो प्रतिनिधी बनाएर केन्द्रमा पठाउदा यत्रो वर्ष भइसक्दा पनि कुनै माखो मार्न सक्दैनन् भने अबका चुनावमा उनीहरुलाई पुन जिताएर हामीले के आशा गर्ने ? यत्तिका दिनसम्म तलब भत्ता खाएर आफ्ना र नजिकका आफन्तलाई भन्दा अरुलाई कुनै भलो नगर्ने पात्रहरुलाई हामी पुनः के आधारमा भरोसा गर्ने त ? घोषणा पत्रलाई मात्र विश्वास गरी आफ्नो अमूल्य मत दिने हो भने हामीले वर्षौ वर्ष देखि धोका पाईसकेका छौं । विदेश तिर निर्वाचनमा हाम्रो जसरी घर घरमा पुग्दैनन् । नेताहरु त्यहाँ आफ्नो विजय पश्चात्को योजना मिडिया मार्फत् सार्वजानिक गर्छन् र सोलाई कार्यान्वयन गर्ने आफ्नो सामथ्र्यता प्रस्तुत् गर्ने वहश गर्दछन् । यदि चुनावमा निर्वाचित भएमा आफुले गरेका वाचा पुरा गर्ने उनीहरुको पहिलो दायित्व हुन्छ । आफुले सक्ने जति, स्रोतले भ्याए जति र कानुनमा उल्लेख भए बमोजिम मात्र म्यानेफेस्ट्रोमा उल्लेख गर्दछन् र सो लाई ठिक वा वेठिक भन्ने हेक्का राम्रोसंग राखेर मात्र उनीहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन्छन् तर हाम्रातिर भने त्यसको ठिक विपरीत । चाहिने, नचाहिने, हुने÷नहुने, सक्ने÷नसक्ने, प्रावधान भएको÷प्रावधानै नभएको, भए भरका सबै चिल्ला मिठा आशा मात्र देखाउने खालका विषयबस्तुहरु मात्रको संगालोको रुपमा बनेका हुन्छन् हाम्रा राजनैतिक दलहरुको घोषणा पत्र ।
जसरी घोषणा पत्र जारी गरियो ठिक त्यसै गरी चुनावी भाषण सभामा पनि सोही मुताविक पटकथा देखाउछन् । हालैका दिनमा सामाजिक सञ्जालमा भाइरल बनेको केही दृष्टान्त देख्दा हामी जस्ता सामान्य विश्लेषण गर्न सक्ने मानिसहरु त हाँसिरहेका छौं भने नेपालका वौद्धिक वर्गहरुले झन् उनीहरुलाई कसरी बुझेका होलान् । जहाँ हालै गोरखाको एक बजारमा पुगेर नयाँ शक्ति पार्टीका संयोजक कमरेड बाबुराम भट्टराईले यो बजार अझै दयनीय अवस्थामा देख्दा मनै कुँडिएको बताएका कुरा होस् वा कमरेड प्रचण्ड चितवनको माडीमा पुगेर बाँदरमुडे घटना छानविन गर्नुपर्ने र त्यसमा आफुले पहल गर्ने बताएका होस् या भूकम्प प्रभावित क्षेत्रका ठूला उम्मेदवारहरुले भूकम्प पछिको जनताहरुको पूनर्निर्माण आफ्नो पहिलो प्राथमिकता भनेको होस् या मधेसी जनताहरुको मुक्तीका लागि भनेर होस् । हाम्रा नेताहरु यहि कुरा मैले बुझ्ने हुने उमेर देखिको निर्वाचनको मूख्य नारा बन्दै आइरहेका छन् । यदि त्यो हो भने वा प्रचण्ड साच्चै बादरमुडे घटना प्रति चिन्तित थिए भने २÷२ पटक प्रधानमन्त्री हुँदासम्म किन चुँ सम्म गर्न सकेनन्, अहिले चुनावको मुखमा मात्रै आएर बाँदरमुडे घटनाका ति सर्वसाधारण पिडा देख्नुको अन्तरनीहित मिनिङ के हुन सक्छ, सबैले अनुमान लगाउन सक्छन् । बाबुरामले चुनाव कै मुखमा आएर मात्र गोरखाको त्यो बजारको कन्तविजोग देख्नु, माधव नेपालले उम्मेदवारी दर्ताको दिन रौतहट भन्दा काठमाडौं–२ बढि प्यारो लागेर उम्मेदवारी दिएको भनेर काठमाडौं–२ बाट सान्त्वना मत बटुल्न खोज्नु, कमल थापाले हिन्दुत्वको नारा ठूलो स्वरले घन्काउनु चुनावको मुखमा मात्र आएर मधेसी जनताको अधिकार अपूर्ण लाग्नु हाम्रा मधेसबादी दलका नेताहरुलाई । तर हरेक सरकारको अग्रभागमा बसी शासनको बागडोर सम्हाल्न पुगी धर्म निरपेक्ष गणतन्त्रात्मक राष्ट्रको नाममा शपथ खाएको हामी सबैले देखिरहेका छौं । अघिपछि त भ¥याङ बनाउदै शासनमा चढ्दै गर्न नै ठिक्क हुन्छ नेताहरुलाइ । उता उदाउदै गरेको विवेकशील साझा दलले पनि चाहिने भन्दा बढी लोकप्रिय नारा घन्काउदै छ । मन र मत परिवर्तन नगरी विकाश सम्भव हुदैन भन्दैछन् तर त्यसको सुनिश्चितताको आधार के त भनेर स्पष्ट नपारेसम्म नयाँसंग पनि विकास गरिहाल्ने आधार प्रशस्त देखिदैन तर आशा भने राख्ने गरेको पाइएको छ ।
ए बाबा, प्रत्येक वर्ष किन यहि नारा ने रिपिटेड हुन्छ ? जितेर गएका पनि तिनै मध्येका हुन्, यत्तिका समय सम्म पनि शासनमा विराजमान तिनै मध्येकाहरुले नै गरेका थिए भने अबको रोइकराई के का लागि ? अब यि र यस्ता बकम्फुसे आश्वासन अनि इलजिकल म्यानेफेस्ट्रोले के पुनः काम गर्ला त? के जनताहरुले आफ्नो प्रतिनिधी छान्दा यसमा आफ्नो विवेक पु¥याउदैनन् होला त ? विवेक लगाएर पक्कै पनि हामीले हाम्रो नेता चुन्नु पर्दछ । अन्यथा हामी पुनः गफ गर्ने तर काम नगर्ने ढोंगी नेताहरुबाट शासित हुनुपर्ने हुन्छ । हामीले आफ्नो नेता छान्दा घोषणा पत्रका तुक बेगरका शाब्दिक अनि ओठे प्रतिवद्धता भन्दा पनि आफ्नो सुख दुखमा साथ दिने, आफु र आफ्नो मात्र नभनि आम जनचासो र जनसरोकारका मुद्दालाई उठान गर्न सक्ने, स्थानीय विकास निर्माणमा सहयोगी मनलाई रोज्नु पर्ने हुन्छ । सधै एउटै र पुरानालाई मात्रै होइन अनि विचार र भिजन विनाका नयाँलाई पनि होइन, पक्का इमान्दार अनि वचनमा कटिवद्धलाई आफ्नो नेता बनाउनु उचित हुनेछ । महत्वकांक्षी योजना भन्दा पनि यथार्थ र बस्तुपरक कार्यक्रमहरुको खोजी गरी सर्वसाधारणहरुको चित्त बुझाउन सक्नेलाई रोज्नु बुद्धिमानी ठहरिन्छ । हाल देखा परेको प्रि इलेक्सन एलायन्सले सर्वसाधारण मतदातालाई दिग्भ्रमित मात्रै होइन आफ्नो आस्थाको बलिदानी दिनुपर्ने बनाएको छ । आफुले चाहेको दललाई भोट हाल्न नपाउदा मतदाता निराश छन् । केन्द्रबाट होइन, स्थानीय तहबाटै, मञ्चबाट होइन जबसम्म मन बाटै गठबन्धन हुन्नन् तबसम्म यस्ता एलायन्सले सस्टेनेबल रुपमा काम गर्न सक्दैनन् भन्ने हेक्का हाम्रो नेता ज्युहरुलाई किन नभएको होला ? क्षणिक लाभलाई हेरेर गरिएको निर्णयले हामीलाई ५ वर्षसम्म पिरोल्ने हुँदा त्यसमा हामीले बुद्धिमतापूर्ण रुपमा छनौट गरी राम्रालाई नेतृत्व गर्न दिइयो भने मात्र आफ्नो मतलाई आफैले न्याय गरेको ठहरिनेछ । अन्यथा पुनः गोलमाल सेकेण्ड टाइम रिटर्न हुन कुनै आइतबार नलागे झै यहि आश्वासन अबको पाँच वर्ष पछि फेरि नआउला भन्न सकिन्नँ ।