संस्कृतिकर्मीलाई गिरफ्तार गरिएकोमा विरोध

संस्कृतिकर्मीलाई गिरफ्तार गरिएकोमा विरोध

काठमाडौँ, २९ कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले निर्वाचन बहिष्कारको आफ्नो कार्यक्रममा सहभागी लेखक तथा साहित्यकारलाई सरकारले गिरफ्तार र दुव्र्यबहार गरेको भन्दै विरोध जनाएको छ ।

सरकारले अन्धाधुन्ध पक्रने, यातना दिने, झुठा मुद्दा लगाउने काम तीब्र बनाएको महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । महासचिव थपलियालाई दङ्गा प्रहरीद्वारा मूलबाटोमा नियन्त्रण लिएर दुव्र्यवहार गरिएको, कोषाध्यक्ष आरोह नेपाली र केन्द्रीय सदस्य बुद्ध लामालाई पक्राउ गरेर थुन्ने काम गरिएको सो संगठनले जनाएको छ ।
यस्तै मेची ब्युरो प्रमुख नवल गजमेरलाई बिरामी अवस्थामै झापास्थित घरबाट पक्राउ गरी थुनामा राखिएको, राप्ती ब्युरो प्रमुख हिमाललाई २८ दिन हिरासतमा राखिएको र लुम्बिनी ब्युरो प्रमुख खोमा तरामु मगरलाई पटक–पटक नियन्त्रणमा लिई मानसिक यातना दिइएको संगठनले जनाएको छ ।
सो पार्टीले आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कारको नीति लिएको छ ।