नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसे

नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसे

जुम्ला, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् ।

रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेको निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठले जानकारी दिनुभयो । “बाटोमा हिँडिरहेको बेला एक्कासि पाँच÷छ जना आएर मतदाता शिक्षा सामग्री दिनुस् भने र हातबाट खोसेर लगे”–उहाँले भन्नुभयो ।

निर्वाचन शिक्षा सामग्रीसँग सम्बन्धित केही पोष्टर, पम्पलेट र नमूना कार्ड उनीहरुले लगेपनि मतदातालाई शिक्षा दिने केही सामग्री आफूसँग सुरक्षित रहेको उहाँले बताउनुभयो । रनुखाना मतदान केन्द्रका लागि सहजकर्ता श्रेष्ठ र जयशंकर चौलागाईँ खटिइनु भएको छ ।

रनुखानामा भएको घटनाबारे आफू नेपालगञ्जबाट जुम्ला पुग्नेबित्तिकै थाहा पाएको र अहिले त्यसक्षेत्रको सुरक्षा अवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर पौडेलले जानकारी दिनुभयो । अतिसंवेदशील केन्द्रका रुपमा ठानिएको उक्त मतदान केन्द्रमा अब मतदाता शिक्षा दिन कुनै असहज नहुने उहाँले विश्वास दिलाउनु भयो ।