आचारसंहिताको धज्जी नेता भाषण ठोक्छन्, बालबालिका दमाहा

आचारसंहिताको धज्जी नेता भाषण ठोक्छन्, बालबालिका दमाहा

काठमाडौं ६ मंसिर .

निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिकाको प्रयोग गरिरहेका छन् ।

आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरूले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेका छन् । तर निर्वाचन आयोग भने टुलुटुलु हेरेर बसेको छ ।

दलका नाराजुलुस र सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गालीसहित मतदाता तान्न चर्का भाषण ठोकिरहेका छन् । नेताको भाषणअघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका छन् ।

वाम गठबन्धन र लोकतान्त्रिक दुवै पक्षका सभा, सम्मेलन, ¥याली र नाराजुलुसमा आधा बढी बालबालिका नै हुन्छन् । दलहरूले निर्वाचन आचारसंहिताविपरीत प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

पार्टीको चिह्न अंकित टी–सर्ट, टोपी, प्रचार पम्पलेट, भित्तेलेखन र वाल पेन्टिङ गरेर आचारसंहिता मिच्दै आएका दलहरूले यसपटक भने विद्यालय पोसाकसहितका बालबालिकाको प्रयोग गरेर आचारसंहिताको खिल्ली उडाएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरे यता अछाममा प्रचारमा होमिएका दलहरूले बालबालिकालाई झन्डा बोकाएर नारा जुलुसमा मात्र लगाएका छैनन् दमाहा बजाउने, सामान बोक्ने, पानी ल्याउने र प्रचार पम्पलेट ओसारपसारमा पनि प्रयोग गररहेका छन् ।

प्रचारमा आफ्नो शक्ति बलियो देखाउन उनीहरूले बालबालिकालाई सामेल गराउने गरेको तुर्माखाद–१, अछामका वीरबहादुर शाही बताउँछन् । जुलुसमा केटाकेटी नै बढी देखिन्छन्,’ उनले भने, ‘नाचगानमा त झन् बालबालिका मात्रै हुन्छन् ।’

बैतडीमा पनि निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ । जिल्लाका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्घता जनाए पनि उनीहरूले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।

दलहरूले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् । प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ । बैतडी सदरमुकाम गोठलापानी बजार, साहिलेक बजारमा दलहरूका झण्डा तथा पर्चा पम्पलेटले दुलही झैं सिँगारिएको छ । यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमाडौं, खोडपे बजार, खोचलेक बजारलगायत क्षेत्रमा पनि झण्डाहरूको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ ।

विद्यालयलाई शान्ति क्षेत्र गरेको भए पनि बैतडीका केही दलले चुनावी सभा पनि विद्यालयमै गरेका छन् । निर्वाचनमा प्रचारप्रसार गर्न ठूलो साउन्ड सिस्टमको प्रयोग गर्न र ठूलो आवाजमा नारा लगाउन बालबालिकाको प्रयोग पनि गरेका छन् । निर्वाचनको आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भए पनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय मौन बनेको छ ।

अछामका कतिपय बालबालिका स्कुल जान छाडेर प्रचारमा हिँडिरहेका छन् । प्रचारकै लागि बालबालिका कक्षा छोडेरै प्रचारमा हिँडेको तुर्माखाद–१, अछामका वीरबहादुर शाही बताउँछन् ।‘विद्यालय प्रायः खाली छन्,’ स्थानीय एक शिक्षक भन्छन्,‘अधिकांश शिक्षक पनि प्रचारमै व्यस्त छन् ।’ नेताहरूको प्रत्यक्ष हस्तक्षेपका कारण शैक्षिक संस्थामा आचारसंहिता उल्लंघनका घटना बढेको उनले बताए । बालअधिकारको क्षेत्रमा क्रियाशील सरोकारवालाका अनुसार दैनिक बालबालिकाको प्रयोग बढ्दै गएको छ । राजधानीमा प्रकाशित खबर ।