स्कुलस्कुलमा चुनावी सभा

स्कुलस्कुलमा चुनावी सभा

काठमाडौं ८ मंसिर ।

निर्वाचन आचासंहिताले कुनै पनि शैक्षिक संस्थामा निर्वाचन सम्बन्धी कुनै पनि गतिविधी गर्न नपाइने व्यवस्था गरे पनि रुकुम पश्चिमका विभिन्न राजनीतिक दलले आफ्ना चुनावी कार्यक्रम विद्यालयको नियमित पठनपाठन नै रोकेर गरेका छन्। जसले गर्दा हजारौँ विद्यार्थी पढ्नबाट बन्चित भएका छन् भने विद्यालयको भौतिक सम्पतिको पनि दुरुपयोग भएको छ।

कार्तिक २५ गतेदेखि सदरमुकाम खलंगाबाट चुनावी कार्यक्रमलाई अगाडी बढाएको संयुक्त वाम गठबन्धनले मौन अवधि सुरु हुदाँको दिनसम्म जिल्लाका सबै गाउँपालिका र वडामा समेत गरेर धन्नै ५० भन्दा बढी चुनावी सभा गरेका छन् ।

यसमध्ये लगभग १० वटा चुनावी सभा भने विद्यालयको नियमित पठनपाठनलाई नै राकेर विद्यालयको हाताभित्र गरेको छ । चौरजहारी नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयमध्ये कोटजहारीको आधारभूत विद्यालय, कोटजहारीकै माध्यामिक विद्यालय, नुवाकोटको माध्यामिक विद्यालय, नार्जीको प्राथमिक विद्यालय र खोलाउगाउँमा रहेको जहारी क्याम्पसमा वाम गठवन्धनले आफ्नो चुनावी सभा गरेको पाइएको छ ।

त्यस्तै वाम गठबन्धनले नै त्रिवेणी गाउँपालिका १ र २ अन्तरगत रहेका विद्यालय अन्धनाशक माध्यामिक विद्यालय खुम्चेरी, जिबाङको विद्याविकास माध्यामिक विद्यालय र दिव्यचच्चु माध्यमिक विद्यालयमा तथा बाँफिकोट गाउँपालिकाको दुलीमा रहेको आधारभूत विद्यालय छहरामा र सानीभेरी गाउँपालिकाको काफलबोट सिम्लीमा रहेको विद्यालयम समेत नियमित पठनपाठनलाई प्रत्यक्ष असर पर्नेगरी चुनावी सभा गरेको छ।

यसको बारे जिज्ञासा राख्दा माओवादी केन्द्र रुकुमका संयोजक समेत रहेका तथा प्रदेश सभा ‘क’ का प्रत्यक्ष तर्फका उम्मेदवार गोपाल शर्मा (अनल)ले भने विद्यालयमा कार्यक्रम गरेको कुरालाई घुमाउरो पाराले स्वीकार गरेपनि विद्यालय बन्द भएको बेला पारेर साना–साना भेला, तथा भेटघाट मात्र गरेको बताए।

‘हामीले ठूला चुनावी सभा सार्वजनिक स्थानमा नै गरेका छौं’, उनले भने, ‘केही स–साना भेला मात्रै भएका छन्। खुला ठाउँ नभएका कारण विद्यालयमा कार्यक्रम गर्नु हाम्रो बाध्यता हो।’

संयुक्त वाम गठबन्धन मात्रै होइन, अहिलेसम्म ३० वटा भन्दा बढी चुनावी सभा सकेर बिहीबार सदरमुकाम खलंगामा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा जनसभा गरेको कांग्रेस रुकुम पश्चिमले पनि चौरजहारी नगरपालिकाको हिमालय माध्यमिक विद्यालय चौफामा आफ्नो चुनावी गरेको छ। कांग्रेसका नेताले पनि उक्त स्थानमा खुला ठाउँको अभाव भएकै कारण आफूले विद्यालयको हाताभित्र चुनावी सभा गर्नुपरेको बताउछन्। यसबाहेक अन्य स्थानमा भने कांग्रसले सार्वजनिक स्थालको प्रयोग गरेको पाइएको छ ।

उता विद्यालय प्रशासनले पनि दल आएर अनुरोध गरे आफूले नाई भन्न सक्ने अवस्था नहुने भन्दै यस बिषयमा दल र उनका उम्मेदवार स्वयम् जानकार हुनुपर्ने बताएका छन्। विद्यार्थीले भने आफ्नो पढाई नै अवरुद्ध पारेर यसरी चुनावी सभा गर्नु गलत भएको बताए। त्रिवेणी गाउँपालिका १, रुघाँको दिव्यचच्चु माविमा कक्षा १० मा अध्यानरत लीला घर्तीले आफ्नो पढाइ भइरहेको बेला विद्यालयमा एक्कासी नारा–जुलुस आएपछि आफू अच्चम्ममा परेको बताइन्। ‘हामी कक्षाकोठामा पढिरहेका थियौं। एक्कासी नारा जुलुस स्कुलतिरै आयो, हामीलाई अच्चम्म लाग्यो’, घर्तीले भनिन्, ‘यसरी हाम्रो पढाइ नै रोकेर कार्यक्रम गर्न पाइन्छ र ?’ बुधबार संयुक्त वाम गठबन्धनले विद्यालयमा चुनावी सभा गरेको थियो। विद्यालय एकाएक जनसभा स्थालमा परिणत भएपछि त्यहाँ अध्यनरत छ सय विद्यार्थी चुनावी सभा हेर्न बाध्य भए।

यसरी विद्यालयमा चुनावी सभा हुँदा निर्वाचन आचारसंहिता अनुगमन गर्ने निकायले भने दलले कहिकतै पनि आचारसंहिता उल्लंघन नगरेको रटन लाइराखेका छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।