मन्टेश्वरी नामका अधिकांश स्कुलमा घोकाई बढी स्याहार कम

मन्टेश्वरी नामका अधिकांश स्कुलमा घोकाई बढी स्याहार कम

रमेश दुलाल

पछिल्लो समय बढ्दो एकात्मक परिवारका कारण व्यस्त कार्यतालिका भएका अभिभावकहरुले आफ्ना बालबालिकालाई उचित स्याहारका लागि शिशु स्याहार केन्द्रमा पठाउने गरेका छन् । तर अधिकांश केन्द्रले नानीहरुलाई स्याहारका नाममा उमेर भन्दा बढीको कार्यभार थोपरेकोबारे भने अभिभावकले ख्यालै गर्दैनन् । जसबाट नानीहरुमा अध्ययन एक बोझ हो भन्ने मनोवैज्ञानिक बुझाईको बिजारोपण हुने गर्दछ । पोखराको एक मन्टेश्वरीमा कलिला उमेरका बालबालिकालाई पढाउदै गरेको कक्षालाई प्रतिनिधि कक्षाका रुपमा बिश्लेषण गर्दा लाग्छ, हाम्रो शिक्षा कता मोडिदैछ ? अधिकांश शिशु स्याहार केन्द्रमा सिकाई पद्धति सैद्धान्तिक हुने गरेका छन् ।

यस प्रकारको सिकाईले भविष्यमा उनीहरुको सिर्जनसिलतामा नकारात्मक प्रभाव पर्ने हुन्छ । बालबच्चाको प्रारम्भिक शिक्षा पद्धतिमा व्यवहारिक ज्ञान दिन शिक्षकलाई नौ वर्ष देखी प्रशिक्षण दिँदै आएका पिताम्बर न्यौपाने यस किसिमको शिक्षाबाट बच्चाहरुको भविष्य अन्यौल हुने बताउनुहुन्छ । चार वर्ष सम्मका बच्चाहरुलाई धेरै स्याहार र शैक्षिक क्रियाकलाप थोरै गराउनुपर्ने न्यौपानेको भनाई छ । उहाँले भन्नुहुन्छ – ‘बच्चाहरुबाट उच्चस्तरको अपेक्षा राखेर कलिलै उमेरमा घोकन्ते विद्या उन्मुख शिक्षामा जोड दिँदा पढाई एक बोझ हो भन्ने मानसिकता उनीहरुमा विकास हुन्छ ।’ न्यौपानेको अनुभवमा उमेरअनुसार ज्ञान दिने उचित संयन्त्र नेपालमा अझै सुरु हुन सकेको छैन ।

नानीहरुलाई व्यवहारिक तवर बाट सिकाउनु पर्छ भन्ने सैद्धान्तिक ज्ञान भएपनि मानसिक रुपले अधिकांश शिक्षकहरु नै तयार देखिँदैनन् । सरकारी तवरबाट पनि सिकाई प्रक्रिया व्यवहारिक तवरबाट हुनुपर्नेमा सरकार आफै विविध कारणले शिक्षा साक्षरतामुखीमात्र हुन पुगेको स्वीकार्छ । शिक्षा विभाग प्रारम्भिक बालविकास शाखाका उपनिर्देशक हरि खनालका अनुसार बालबालिकालाई व्यवहारिक ज्ञान दिने उद्धेश्यले तयार पारिएका शिक्षकले पेशा छोड्ने गरेका छन् । जसकारण प्रारम्भिक बालबिकास तालिम नलिएका शिक्षकले सिकाउँदा घोकन्ते विद्यामा जोड दिएको भान हुन्छ । उहाँले भन्नुहुन्छ – ‘प्रारम्भिक बाल विकास सम्बन्धी सिप नभएका शिक्षकले सिकाउनु पर्ने बाध्यात्मक अवस्थाका कारण घोकन्ते विद्यातर्फ प्रारम्भिक शिक्षा पद्धति उन्मुख भएको हो ।’ अभिभावकहरुपनि आफ्ना बालबालिकाले लेख्न पढ्न सुरु नगरिसकेको भन्दै दवाव दिने गरेकाले पनि समस्या रहेको उहाँको भनाई छ ।

शिक्षा ऐनमा प्रारम्भिक शिक्षालाई खेलखेलमा आधारित शिक्षा र गतिविधिमा आधारित शिक्षा हुनुपर्ने उल्लेख छ तर त्यसका लागि सवैभन्दा पहिला शिक्षक गम्भीर हुनु पर्ने पिताम्बर न्यौपाने बताउनुहुन्छ । बालबालिकाको मनोभाव पढेर सिकाउनका लागि दक्ष शिक्षकहरु उत्पादन नहुनु तथा भएका शिक्षकहरुबाट पनि अध्ययन अनुसन्धान विनानै यो पेशामा लाग्ने हुँदा यस्तो समस्या देखिएको उहाँको भनाई छ । अभिभावकको मनोविज्ञान साक्षरतामुखी शिक्षामै केन्द्रित रहेको पाइन्छ । मन्टेश्वरी हुन वा राम्रो नाम चलेका स्कुल नै किन नहुन्, राजधानीका अधिकांश शैक्षिक संस्थाको सिकाई प्रति अभिभावकको गुनासो रहि आएको छ ।

बालबच्चा भन्दा अभिभावक केन्द्रित गृहकार्यले शिक्षकहरुको अध्यापन प्रतिको लगाब प्रति नै आवाज उठ्न थालेको छ । शिक्षिका सुवर्ण केशरी महर्जन भने भने शिकाई प्रविधि घोकन्ते नभएको दावी गर्नुहुन्छ । बालबालिकालाई होमवर्क दिँदा अभिभावकको सहारा लिन नपर्ने गरी दिइनुपर्ने उहांको धारणा छ । अधिकांश अभिभावक, अपुरो आफ्नो सपना बच्चाबाट पुरा भएको हेर्न चाहन्छन्, जसले सानै उमेरदेखि बालबालिकामा मानसिक दवाव थोपरेको पाईन्छ । स्कुलमा क्लासवर्क र होमवर्कको तनाव अनि घर फर्केपछि अभिभावकको सपना, दोहोरो चापका कारण मानसिक तनाव बोकेका बालबच्चामा, पिठ्युँ नै खिईनेगरीको कितावको भारी भन्दा मानसिक तनावको बोझ बढी पाइन्छ ।


रेडियो कान्तिपुरको वेवसाइटमा प्रकाशित

Back to Top
(0.011497 seconds )