महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

भक्तपुर । मनिस सुवेदी । २०७४ पुस ७ ।

संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य सेवामा बल्ल यो व्यवहारमा आउँदै छ । लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले उपचार महँगो पर्ने मुटु, मिर्गौला, क्यान्सरजस्ता ठूला रोगको उपचार निःशुल्क गरेसँगै स्वास्थ्यको मौलिक हक व्यवहारमा आउन थालेको हो ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गर्नुभएको थियो । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला फेल हुने अनुमान गरिए पनि हाल करिब साढे २ सयले मात्र प्रत्यारोपण गराउँदै आएका छन् । त्यसैगरी, मन्त्री थापाले बाथज्वरोका कारण मुटुका भल्ब बिग्रने समस्याको उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको थियो । कमजोर आर्थिक सामाजिक अवस्थाका बालबालिकालाई घाँटीको संक्रमण र बाथज्वरोका कारण भल्बमा असर गरेर युवा अवस्थातिर पुग्दा त्यसले पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ । कमजोर आर्थिक, सामाजिक अवस्थाका बालबालिकालाई घाँटीको संक्रमण र बाथज्वरोका कारण भल्बमा असर गरेर युवा अवस्थातिर पुग्दा भल्बले पूर्ण रुपमा फेर्नुपर्ने हुने गर्छ । भल्ब बिग्रिए पनि शल्यक्रिया शुल्क महँगो हुँदा उपचार वञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि यस्तो निर्णय लिएको मन्त्री थापाले बताउनुभएको थियो ।
यसैगरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले समेत महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क रुपमा गर्ने घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो छ महिना अवधिमा मात्र २० लाख जनाको मिर्गौला परीक्षण, निजी अस्पतालमा समेत १० प्रतिशत संख्या तथा तोकिएका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो ।
पछिल्लोपटक हेपाटाइटिस ‘सी’ को उपचार निःशुल्क गरिनुका साथै उपचारमा १ लाखसम्म सहुलियत पाउने रोगको सूचीमा अटिजम, हेमोफिलिया थाल्सेमिया, अप्लास्टिक एनिमिया, कलेजो प्रत्यारोपण र स्ट्रोकको उपचारसमेत थपिएको छ । यसअघि मुटु, क्यान्सर, हेड इन्जुरी र मेरुदण्डको चोट पार्किन्सस, अल्जाइमर्सजस्ता रोगमा एक लाखसम्मको उपचार निःशुल्क गरिँदै आएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलका अनुसार मन्त्रालयले आर्थिक रुपमा राज्यले धान्नेसम्मका उपचार सेवा निःशुल्क गर्दै लैजाने नीति रहेको बताउनुभयो । ‘पूर्ण निःशुल्क गरिएको मेजर सेवाबाहेक थुप्रै सेवामा सहुलियत घोषणा भएको छ’, डोटेलले भन्नुभयो, ‘लामो समयदेखि ३० भन्दा बढी प्रकारका सेवा निःशुल्क भइसकेका छन् ।’
२०६४ सालको परिवर्तन र अन्तरिम संविधानले मौलिक हकमा राखेसँगै सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भन्दै स्वास्थ्य चौकीमा २२, प्राथमिक स्वास्थ्य केन्द्रमा ३२, जिल्ला अस्पतालमा ४० प्रकारका औषधि निःशुल्क घोषणा गरेको थियो । पछिल्लोपटक उक्त सूचीमा नसर्ने रोगका औषधिसमेत थपेर ७० प्रकारका पु¥याएको छ । यसैगरी प्रसूति सेवा र आङ खस्ने समस्याको उपचारसमेत निःशुल्क घोषणा गरिएको थियो ।
मन्त्रालयले मातृमृत्युदर घटाउन र स्वास्थ्य संस्थामा हुने सुत्केरी बढाउन तराईमा ५ सय, पहाडमा १ हजार र हिमालमा १ हजार ५ सय बाटो खर्चसमेत दिने गरेको छ भने स्वास्थ्य संस्थामा जन्मिने बच्चालाई लगाउने लुगासहित अन्य कपडासहितको न्यानो झोला कार्यक्रमसमेत पुनः सुरु गरेको छ ।
सरकारले सहुलियत दिनसक्ने सेवासँगै पूर्ण रुपमा स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सबै जिल्लामा बिमा कार्यक्रम लागू गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा घोषणा गरिएका ठूला रोगका उपचारबाहेक जनस्वास्थ्य प्रमुख समस्याका रुपमा रहेका धेरै रोगको उपचार सरकारले लामो समयदेखि निःशुल्क रुपमै गर्दै आएको छ ।
प्रवक्ता डोटेलका अनुसार मातृ तथा नवजात शिशु सम्पूर्ण खोप सेवा निःशुल्क छ । ‘धेरै जोखिम रहेका रोगसहित परिवार नियोजन सेवा लामो समयदेखि निःशुल्क छ’, उनले भने । गर्भवती महिलालाई टिटी खोप, आइरन चक्की, बालबालिकालाई भिटामिन ‘ए’ र कडा खालको कुपोषणको उपचार पनि निःशुल्क छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यका अनुसार महामारीजन्य रोगका अधिकांश उपचार निःशुल्क छन् । महाशाखाका अनुसार जापानिज इन्सेफलाइसिटस, हात्तीपाइले, कुष्ठरोग, क्षयरोग, रेबिज र सर्पदंशविरुद्धका उपचार निःशुल्क छन् । औलो तथा कालाजारका उपचारसँगै यस्ता रोगप्रभावित जिल्लामा निदानका लागि विषादीयुक्त झुलसमेत वितरण गरिने आचार्यले बताउनुभयो । सर्ने खालका कुष्ठरोग, क्षयरोग र एचआइभीको परीक्षण र उपचार सेवासमेत निःशुल्क छ ।
प्रवक्ता डोटेलले हालसम्म आधारभूत स्वास्थ्य सेवा निःशुल्क र जटिल खालका रोगमा सक्दो सहुलियतको नीति लिएकोमा बिस्तारै बिमामार्फत सम्पूर्ण सेवा समेट्ने योजना रहेको बताउनुभयो । ‘सकेसम्म जनचेतना बढाएर रोग लाग्ने अवस्था आउन नदिने, लागेको अवस्थामा पनि समयमै निदान गर्ने कार्यक्रममा हाम्रो ध्यान उत्तिकै छ’, डोटेलले भन्नुभयो ।

के–के निःशुल्क ?


) मुटुको भल्ब शल्यक्रिया
) मिर्गौला प्रत्यारोपण
) महिला क्यान्सरको उपचार
) डायलसिस
) हाइड्रोसिल
) नवजात शिशु उपचार
) ७० थरी औषधि
) परिवार नियोजन सेवा
) आमा सुरक्षा कार्यक्रम
) खोप तथा भिटामिन
) रेबिज र सर्पदंश
) हात्तीपाइले, औलो, कालाजार
) कुष्ठरोग, क्षयरोग
) एचआइभी
) सिकलसेल एनिमिया

Back to Top
(0.014421 seconds )