४६ करोडमा आयोजना निर्माण भएपनि उपभोक्ता धमिलो पानी खान बाध्य

४६ करोडमा आयोजना निर्माण भएपनि उपभोक्ता धमिलो पानी खान बाध्य

संखुवासभा, २८ माघ । — सदरमुकाम खाँदबारी र चिचिला गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी ४६ करोड लागतमा खानेपानी आयोजना निर्माण गरिए पनि उपभोक्ताले भने पिउने पानी पाएका छैनन् ।

उनीहरू खोलाकै धमिलो पानी पिउन बाध्य छन् ।चार पटकसम्म निर्माण अवधि थपेर खाँदबारी साना सहरी खानेपानी आयोजना सम्पन भएको थियो । ठेकेदार कम्पनीले आयोजना जिम्मा लगाइसकेको छ । निर्माण सम्पन्न भए पनि सदरमुकाम खाँदबारीका उपभोक्ताले आयोजनाबाट उपलब्ध पानी खान पाएका छैनन् । खाँदबारीमा २ दिन बिराएर पानी वितरण गर्ने गरिएको छ । अन्तिमपटक ठेकेदार कम्पनी र आयोजनाबीच २०७४ पुस १६ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण कार्य सकिएर आयोजना जिम्मा लगाइए पनि पानीको चरम अभाव छ । कतिपय धारामा मिटरसमेत जडान गरिएको छैन । सदरमुकाममा पानीकै हाहाकार छ ।पानी सञ्चालनमा आए पनि उपभोक्ताका घरसम्म पुग्न नसकेको हो । पानी नआएपछि जिल्ला कारागारका कैदीबन्दीलाई समस्या छ । जेलर विनोद अधिकारीका अनुसार पानी नआउँदा दैनिकी कष्टपूर्ण बनेको छ । ‘दैनिक २ ट्यांकर सभाखोलाबाट पानी ल्याउने गरिएको छ,’ उनले भने, ‘जुन यहाँका लागि पर्याप्त होइन ।’ सभाखोलाबाट दैनिक २ ट्यांकर अर्थात् ८ हजार लिटर पानी ल्याउँदा प्रतिलिटर १ रुपैयाँ २५ पैसा तिर्नुपर्छ ।जिल्ला अस्पताल पनि सभाखोलाकै धमिलो पानीको भरमा चल्छ । पानीको अभावमा ल्याब, अप्रेसन थिएटर सेवा प्रभावित हुने गरेको स्वास्थ्य प्रमुख विनीतकुमार झाले बताए । अस्पतालमा पानीको चरम अभाव भएपछि खोलाको पानी प्रतिलिटर १ रुपैयाँ २५ पैसाले किन्नुपरेको प्रमुख झाले बताए ।
‘अस्पतालमा दैनिक १२ हजार लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘महँगो भएकाले खोलाबाट ल्याएको २ ट्यांकर पानीले काम चलाएका छौं।’ पानी अभावमा अस्पताल परिसरकै निवास, जिल्ला स्वास्थ्य र बिरामी कुरुवाले बाहिरबाट पानी ल्याउनुपर्ने बाध्यता छ । यो आयोजनाका लागि स्थानीयले ५० प्रतिशत लगानी गरेका छन् । बाँकी एडीबी र र नगर विकासबाट ऋण लिइएको छ । आयोजना २०७० देखिसुरु गरिएको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव डिल्लीराम श्रेष्ठले बताए ।स्थानीयबाट प्रत्यक्ष रूपमा ५ प्रतिशत रकम संकलन गरिएको थियो । ४५ प्रतिशत अप्रत्यक्ष रूपमा नगर विकास कोषको ऋण लिइएको सचिव श्रेष्ठले बताए । आयोजना ३४ करोड ८३ लाखमा सिनोटेक र आशिष कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेकेदार कम्पनीले ठेक्काभित्रको सबै काम गत पुस १६ गते सम्पन्न गरिसकेका छन् । ३४ करोड ८३ लाखको २५ प्रतिशत मूल्य समायोजन गर्दा ३७ करोड ७५ लाख हुन्छ । यसमा झन्डै तीन करोड थपिन्छ । यसरी आन्तरिक र बाहय सबै गरी आयोजनामा कुल लागत ४६करोड बराबरको लगानी भएकोश्रेष्ठले बताए ।सदरमुकाम खाँदबारीदेखि पानीको मुहान ४३ किलोमिटर टाढा पर्छ । खानेपानीको मुहान टाढा भएकाले आयोजना सम्पन्न गर्न चार वर्ष लागेको सचिव श्रेष्ठले स्वीकारे । मुहान नजिकैको मांसिमा भीरबाट पाइप गाडेर ल्याउनुपर्ने हुँदा भीरमा काम गर्न समस्या पर्नुका साथै पहिले स्टिमेट गर्दा नापजाँच तलमाथि भएकाले ‘ट्रयाक चेन्ज’ गरेर ल्याउनुपर्दा पनिढिलो भएको बताए ।अर्कोतिर मुहान टाढा भए पनि ठाउँठाउँमा पाइपहरू फुट्ने र सडकमा पाइप गाडेर ल्याउनुपर्ने भएकाले सडक कार्यालयको समन्वयलगायत विभिन्न कारणहरूले गर्दा ढिलो भएको उनको भनाइ छ । मकालु गाउँपालिका ५ मांसिमा रहेको सिमाली खोलाबाट दैनिक २३ लाख लिटर खानेपानी आउँछ । सिमाली खोलाबाट ३५ किलोमिटर तल रहेको चिचिला गाउँपालिकाको कुवापानीमा बनेको ट्रिटमेन्ट प्लान्टसम्म प्रतिसेकेन्ड २७ लिटरका दरले पानी झर्छ । २४ घण्टामा प्रतिघण्टा ९७ हजार २ सय लिटर पानी जम्मा हुन्छ । २४ घण्टामा २३ लाख ३२ हजार ८ सय लिटर पानी आए पनि उपभोक्ताले भने पिउन पाएका छैनन् । कान्तिपुरमा समाचार छ ।

Back to Top
(0.012363 seconds )