सरकारीमा  औषधि  र स्वास्थ्यकर्मीको कमी निजि मापदण्डविपरित

सरकारीमा औषधि र स्वास्थ्यकर्मीको कमी निजि मापदण्डविपरित

सिरहा, २९ माघ । जिल्लामा सञ्चालित सरकारी तथा निजी स्वास्थ्य संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा स्थानीय सर्वसाधारण मर्कामा परेका छन् ।

सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि दुवैको कमी छ भने अधिकांश निजी अस्पतालहरू सरकारी मापदण्ड विपरीत सञ्चालित छन् । स्थानीयवासीको लागि यहाँको स्वास्थ्य सुविधा ‘ल्हासामा सुन छ, कान मेरो बुच्चैं’ भएको छ । सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालको भवनमा प्रवेश गर्ने बित्तिकै पश्चिमपट्टि छेमा दुई वटा सूचना पार्टी झुन्डयाइएको छ । एउटामा निस्शुल्क औषधि र अर्कोमा नागरिक बडापत्रको बिवरण उल्लेख गरिएको छ । यी दुई सूचना पार्टीमा लेखिएका सेवा र सुविधा भने सर्वसाधारणको पहुँचमा छैन् । धनुषा संघराका दुखरा मुखिया आयुर्वेद औषधालयमा उपचार गराउँथे । रगत जाँच गर्नुपर्ने भयो । गरिब परिवारका उनी सस्तो रगत जाँच हुने भएपछि जिल्ला अस्पताल पुगे । धनुषा पुग्नुभन्दा सिरहा अस्पतालमा आएका उनी आज भोलि गर्दा गर्दै चार दिनभन्दा बढी भयो । तर, रगत जाँच्ने उनको पालो नै आएन ।

सिरहा नगरपालिका ७ का राहुल पासमानलाई टाउकोमा चोट लाग्दा टाँका लगाउन अस्पताल आए । स्वास्थ्यकर्मीले टाँका लगाइदिए तर, औषधि सबै बाहिर नै किन्नु परेको उनको आफन्तले बताए । निस्शुल्कमै सरकारी अस्पतालमा औषधि पाइन्छ भनेर सुनेको थिए, तर अस्पतालले औषधि छैन भनेपछि बाहिर किन्नुपरेको उनका आफन्तले गुनासो गरे ।
अर्नमा गाउँपालिका ३ का आलोक कुमार सिंहलाई सामान्य खोकी लागेर अस्पताल आए । चिकित्सकले एक्सरे गराउन भनेपछि उनी एक्सरे कक्ष पुगे तर अस्पतालले बाहिरबाट गराएर ल्याउनु भनेपछि महँगोमा परेको उनले दुस्खेसो पोखे । चिकित्सक र उपकरण अभावमा अस्पतालले गत साउनदेखि पुससम्म ४ हजार १ सय २१ मध्ये ७३ जना रेफर गरेको आकस्मिक कक्षको तथ्यांक छ ।स्वास्थ्य सेवाबाट निमुखा जनता वञ्चित हुन नपरोस् भनेर सरकारले हरेक गाविसमा स्वास्थ्य चौकीको स्थापना गरेको छ । गाउँमै खोलिएको स्वास्थ्य चौकीमा निस्शुल्क औषधि वितरणको व्यवस्था गरिको छ । तर, जिल्ला अस्पतालमैं

 

स्वास्थ्यकर्मी

औषधि अभाव छ । जिल्ला अस्पतालमात्र होइन जिल्लामै अर्को सरकारी अस्पताल लहानमा दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । पर्याप्त औषधि नहुँदा बिरामी मारमा परेका छन् । अस्पतालमा आउने बिरामीलाई उपलव्ध सामान्य औषधि वितरण गर्न सकिएको अस्पतालले जनायो । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य केन्द्रमा ३५ प्रकारको निस्शुल्क औषधि वितरण व्यवस्था गरेको छ । सर्वसाधारणलाई स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउन सिरहामा दुई अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र, ९२ स्वास्थ्य चौकी छन् । तर, ती सबैमा निस्शुल्क वितरण गर्नुपर्ने औषधि पर्याप्त छैनन् । स्वास्थ्य संस्थामा औषधि आपूर्तीका लागि अधिकार स्थानीय तहले पाएका छन् । कतिपय स्थानीय तहको प्रमुखलाई आग्रह गर्दा पनि औषधि उपलब्ध हुन नसकेका कारण अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख चुमनलाल दासले बताए । उता, अधिकांश स्थानीय तहले औषधि खरिद प्रक्रिया चाडै सुरु गरिने बताए । जिल्लामै पुरानो र ठूलो २४ वडा रहेको लहान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण औषधि खरिद प्रक्रिया हुन नसकेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र शर्मा सरुवा भएदेखि अधिकृत रिक्त छ ।

चिकित्सक अभाव
दरबन्दी अनुसार चिकित्सक नहुँदा सिरहाका सर्वसाधारण सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् । सरकारले सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउने भनिए पनि सिरहामा दरबन्दीअनुसार चिकित्सक नहुँदा सामान्य स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको हो ।
दुई अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी चिकित्सक १० जनाको दरबन्दी भए पनि जिल्लामै चार चिकित्सकले सर्वसाधारणलाई नियमित उपचार सेवा दिनुपरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार दरबन्दीअनुसार जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने चिकित्सकसहित ५ विशेषज्ञ डाक्टरको अभाव छ । जिल्ला जनस्वास्थ्य प्रमुख चुमनलाल दासका अनुसार करारमा भर्ना गरिएको चिकित्सकबाट जिल्ला अस्पताल सञ्चालित छ । लहान अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट दरबन्दी खाली छ । लहान अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहाको भरमा अस्पताल सञ्चालनमा रहेको अस्पताल विकास समितिका अध्यक्ष फुलेश्वर महतोले जानकारी दिए । राजमार्गसँग जोडिएको यो अस्पतालमा ५० शय्या छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्येक १० हजार जनसंख्यामा २३ स्वास्थ्यकर्मी हुनुपर्छ । सर्वसाधारणलाई स्वास्थ्य सेवासम्म पहुाच पुर्‍याउन सिरहामा दुई वटा अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९२ स्वास्थ्य चौकी छन् ।
स्वास्थ्य सेवाबाट वञ्चित
सिरहाको उत्तरवर्ती चुरे क्षेत्र विष्णुपुरकट्टी बासिन्दा स्वास्थ्य सेवाको व्यवस्था नहुदा सामान्य उपचारबाट समेत वञ्चित छन् । विष्णुपुरकट्टी दलमे, चकमके, हातिढुंगा, सर्रे लगायत डेढ दर्जन गाउँका बासिन्दा सामान्य उपचारका लागि चार घण्टा पैदल हिडेर १० किलोमिटर परको धनगढीमाई नगरपालिकाको १२ नम्बर वडामाअवस्थित स्वास्थ्य चौकीमा धाउनवाध्य छन ।
सरकारले सर्वसाधारणलाई स्वास्थ्य सेवाको सरल पहुँच पुर्‍याउन प्रत्येक गाविसमा स्वास्थ्य चौकीको व्यवस्था गरे पनि ती गाउँका बासिन्दा भने स्वास्थ्य सेवाबाट वञ्चित छन् । उतरवर्ती चुरे क्षेत्र उदयपुर जिल्लासंग सिमाना जोडिएको ती गाउँका बासिन्दा भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपरेको हो ।

इजाजत नपाएका स्वास्थ्य केन्द्रमा गर्भपतन बढ्दो
साधारणतया बिरामीको समान्य रोग परीक्षण तथा उपचार गर्ने इजाजत निजी स्वास्थ्य केन्द्रले पाएका हुन्छन् । तर, सिरहामा सुरक्षित गर्भपतनको इजाजत नलिइकनै ती स्वास्थ्य केन्द्रहरूमा अवैध गर्भपतन गर्नेक्रम बढदो छ । सरकारी अस्पताल र त्यसको मातहतका स्वास्थ्य केन्द्रहरूबाहेक सिरहामा निजी अस्पताल, पोलिक्लिनिक र क्लिनिक गरी ६५ वटाभन्दा बढी निजी स्वास्थ्य केन्द्रहरू दर्ता भई सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य क्लिनिकले विरामीको साधारण रोग परीक्षण तथा उपचार गर्ने इजाजत पाए पनि कुनै पनि किसिमका चिरफार ९अप्रेसन० जन्य उपचार तथा गर्भपतन गराउन पाउँदैनन् । तर नियमनकारी निकायको निगरानीको अभावले अधिकांश पोलिक्लिनिक र क्लिनिकले लुकिछिपी अवैध गर्भपतनको काम गर्दै आइरहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार जिल्ला अस्पताल, लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र लहानकै सप्तऋषि अस्पताल गरी तीन वटा अस्पताल, स्वास्थ्य कार्यालयद्वारा सञ्चालित १७ वटा प्रसूति केन्द्र तथा मेरी स्टोप्स र सुनौलो नेपाल गरी दुई वटा स्वास्थ्य संस्थाले मात्र सुरक्षित गर्भपतनको सेवाको इजाजत पाएका छन् । स्वास्थ्य कार्यालयमा दर्ता भएका स्वास्थ्य केन्द्र मात्र होइन चोक, बजार र जिल्लाको प्रमुख बजारहरूको गल्लीगल्लीमा फार्मेसीको आडमा सञ्चालन भइरहेका गोप्य क्लिनिकहरूको प्रमुख खेती नै गर्भपतन हुँदै आएको छ तर त्यसको ठीक विपरीत सुरक्षित गर्भपतनको अनुमति प्राप्त गरेका स्वास्थ्य संस्थाहरूमा भने गर्भपतन गराउनेहरू निकै कम जाने गरेका छन् ।
‘हामीकहाँ कहिलेकाहीं मात्रै गर्भपतन गराउने जोडी आउछन्,’ रामकुमार उमाप्रसाद स्मारक अस्पतालका एक चिकित्सकले भने, ‘लुकिछिपी गर्भ बोक्नेहरू आउँदा समाजले थाहा पाउने भयले त्यस्ता जोडीहरू हामीकहाँभन्दा पनि अवैध गर्भपतन गर्नेहरूकहाँ नै बढी पुग्छन ।’ कान्तिपुरमा समाचार छ ।

Back to Top
(0.017307 seconds )